छयो मोटरेबल पुलको लम्बाइ बढ्ने

सुन्दरकुमार थकाली
मुस्ताङ
कालीगण्डकी नदीले कटान गरेका कारण छयो मोटरबल पुलको डिजाइन फेरिने भएको छ । वर्षामा नदीको उच्च बहावका कारण छयो गाउँतर्फको पुलको फाउन्डेसन बिम लच्किएपछि पुल जोखिममा परेको छ ।
सांसद प्रेमप्रसाद तुलाचन छयो मोटरेबल पुलको नयाँ डिजाइन १ महिनाभित्र तयार हुने बताउँछन् । अहिलेको अवस्थामा पुल निर्माण गर्दा दीर्घकालीन नहुने देखिएकाले पुलको डिजाइन परिमार्जन गर्नुपरेको उनको भनाइ छ । उक्त मोटरेबल पुल केही समय अघि स्विटजरल्यान्ड तथा स्थानीय पूर्वाधार विकास कार्यक्रमका प्राविधिक टोलीले स्थलगत अनुगमन गरेका थिए । अनुगमनमा साविक अनुसार पुल निर्माण गर्दा दीर्घकालीन नहुने टोलीले सुझाएको थियो ।
टोलीले पुलको पछिल्लो विस्तृत डिजाइन प्रतिवेदन तयार गर्दैछ । सांसद तुलाचन ढिलो भए पनि कामको राम्रो प्रतिफल प्राप्तिका लागि पूर्वाधार विकासको प्रस्तावमा सहमति जनाएको उल्लेख गरे । ‘कालीगण्डकीको असरले पुल नै धराप पर्ने प्रतिवेदनमा छ, लामो समयदेखि पुल निर्माण विविध कारणले ढिलो भयो,’ सांसद तुलाचनले भने, ‘हतारको निर्णयले फुर्सदमा पछुताउनुभन्दा गुणस्तरीय काममा ध्यान दिनुपर्छ भन्ने ठानेर गाउँपालिका, वडा र स्थानीयबासीलाई सुझाएका छौं । अब पुल केही लामो हुन्छ ।’
१ साताअघि छयो पुलको नयाँ डिजाइनमा लम्बाइ परिवर्तन गर्नेबारे छलफल भएको छ । छलफलमा संस्थाका टोली प्रमुख बेनाम ढलीली र पुल डिजाइन इन्जिनियर राजन मानन्धरसँग सांसद तुलाचनले पुलको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
यसअघि सांसद तुलाचनले प्राविधिक टोलीलाई पुल निर्माण लामो समय भएकाले डिजाइनको बहानामा अरु ढिलाइ हुन दिन नहुने सुझाएका थिए । थासाङ गाउँपालिका छयोमा निर्माणाधीन मोटरेबल पुल २०७४ साल फागुनमा सुरु भएको हो । स्वच्छन्द निर्माण सेवा कम्पनीले ११ करोड ३० लाख लागतमा निर्माण सम्झौता गरेको हो ।
लम्बाई १ सय मिटर र चौडाइ ७ दशमलव २० सेमीको रहने छयो पुलको सम्झौता अवधि १८ महिना तोकिएको थियो । पुलको सम्झौता अवधि सकिँदा जम्मा २५ प्रतिशतमात्र काममात्र सकिएको प्राधिकरण परामर्शदाता राजीवकुमार शाहले जानकारी दिए । उनका अनुसार छयो पुलमा डेढ करोडको काम भइसकेको र १ करोड निर्माण कम्पनीले भुक्तानी लिइसकेको जनाए ।
निर्माणाधीन छयो मोटरेबल थासाङ गाउँपालिकाको पूर्वतर्फका गाउँहरु छयो, झिप्रा देउराली, कुञ्जो, ताक्लुङ र टिटी गाउँ जोड्ने महत्वपूर्ण पुल मानिन्छ । प्रारम्भिक निर्माण चरणमा ठेकेदार र पेटे ठेकेदारबीचको आन्तरिक द्वन्द्वका कारण पुल निर्माणमा ढिलाइ भएको सांसद तुलाचनको भनाइ छ । उनले धम्पु, चिमाङ ढुम्बा र चराङमा बन्ने पुलको डिपिआर भइसकेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया