नेपाल शिक्षक महासंघ मुस्ताङ चोईटियो

समाधान संवाददाता २०७६ वैशाख २ गते १७:२३

सुन्दरकुमार थकाली

०७२ सालमा गठन भएको शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघ जिल्ला तदर्थ समिति मुस्ताङ ४ वर्षपछि चाेईटिएको छ ।नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा आयोजित ४० औं शिक्षक दिवसका अवसरमा महासंघबाट अलग हुँने घोषणा गरिएको हो ।

अलग भएको यी दुई संगठनले महासंघका संयोजक राजुप्रसाद श्रेष्ठको नेतृत्वले लामो समय सम्म पनि महासंघको अधिवेशन गर्न नसक्नु ,आर्थिक पारदर्शिता कायम राख्न नसक्नु,राजनैतिक पूर्वाग्रह साँचेर महासंघको गतिबिधि र निर्णयहरु अन्य सदस्यलाई जानकारी नदिनु महासंघ गैर जिम्मेवार रहेको आरोप लगाएका छन् ।

Advertisement

उनीहरुले महासंघको मर्म र भावना अनुसार कार्यसम्पादन गर्न महासंघ श्रेष्ठ नेतृत्व पुरै असक्षम भएको ठहर गर्दै अलग भएको घोषणा गरेको महासंघ सचिव कर्ण थकालीले जानकारी दिए ।

अपाङ्ग जस्तो अपूर्ण महासंघको व्यक्तिवादी चरित्रले शिक्षकहरु हकअधिकारको प्राप्ति नहुँने उल्लेख गर्दै यस्तो समितिमा रहनु वा नरहनुको कुनै अर्थ नरहेकाले नैतिकताको आधारमा अलग हुनु परेको सचिव थकालीले बताए । अलग भएका दुई संगठनले महासंघको बिधान बमोजिम जिल्लाका सक्रिय शिक्षकहरुको पेशागत संघसंगठनहरुको समान प्रतिनिधित्व रहनेगरी महासंघ गठन हुने भएकाले तदर्थ समिति स्वतः अबैधानिक हुने ठहर गरेको छ ।

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको ४० औं शिक्षक दिवस कार्यक्रममा हालै शिक्षा सेवा आयोगको परीक्षा उर्तिण बिवश थकाली,यामकुमार थकाली,शिसम थकाली,ताराकुमारी खड्का,पुनम पौडेल,आनन्द अधिकारी,बिनोद परियार,रुद्रप्रसाद पौडेल,तेजनारायण पौडेल,सुनिता ज्ञवाली,अमर घताने र बशन्त गुरुङ लगायतका शिक्षकलाई स्वागत गरिएको छ ।

यस्तै,लामो समयदेखि शिक्षक अध्यापन पेशाबाट अवकाश लिएका अनिल थकाली,भीमबहादुर थकाली,आईतेलाल थकाली र मनमाया गुरुङलाई संगठनले बिदाई गरेको छ ।

लामो समय देखि शिक्षण पेशामा संग्लनभई संगठनको गरिमा र प्रतिष्ठामा योगदान पुर्याए वापत शिक्षक सुनिता ज्ञवाली र विश्व पाईजालाई संगठनले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको जनाईएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मुस्ताङका संस्थापक एवं पूर्व सभासद चन्द्रबहादुर गुरुङले पञ्चायती शासन सत्ता उत्कर्षमा रहेका बेला मुस्ताङ शिक्षक संगठन गठन भएको स्मरण गरे ।उनले शासन सत्ता परिवर्तन देखि शिक्षकहरुको हकअधिकारको लडाईमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताए । एकिकृत अखिल नेपाल शिक्षक संगठन मुस्ताङका अध्यक्ष भेषराज बास्तोलाले संम्पूर्ण शिक्षकहरुबीच बर्गिय नाता रहेकाले एकताबद्ध भएर अघि बढ्न सुझाए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मुस्ताङका अध्यक्ष रामप्रसाद शर्माले मुस्ताङको संगठन बाहुल्यता भएका बिद्यालयको स्तर उत्कृष्ठ भएको दावी गर्दै उनले नयाँ आएका संगठनका शिक्षकले शिक्षाप्रति समर्पित रहन सुझाए । एकिकृत अखिल नेपाल शिक्षक संगठन मुस्ताङका अध्यक्ष भेषराज बास्तोला र नेपाल राष्ट्रिय शिक्षक संगठन मुस्ताङका अध्यक्ष रामप्रसाद शर्माको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन संगठनका सचिव कर्ण थकालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया