जिप्रकामा पत्रकारको धर्ना, बतासलाई पक्रन आदेश पर्खदै प्रहरी

ईश्वर देवकोटा , पोखरा
पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्की अगाडी धर्ना दिएका छन् ।
साइबर मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की सम्बद्ध पत्रकारहरुले धर्ना दिएका हुन् ।
दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानूनी भएको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
‘पत्रकारहरुलाई नियमन गर्ने आधिकारिक निकाय प्रेस काउन्सिलको त्रुटीले पत्रकारलाई फसाएको छ,’ उनले भने, ‘काउन्सिलले आफ्नो गल्ति सच्याउँदै सिआइबीलाई पत्र पठाइसकेको भएपनि अनेक प्रक्रिया देखाएर म्याद थप गरी हिरासतमा लिनु निन्दनीय हो ।’
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगि विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो । बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।
बतासले पोखराका व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित द्वयको जाहेरीको आधारमा सोमबार बतास विरुद्ध ठगी मुद्दा दर्ता गराएको छ ।
‘बतासलाई पक्राउ पुर्जी जारी गर्न सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा फाइल अघि बढाएका छौं । आदेश आउनासाथ पक्राउ गर्छौ,’ प्रहरी प्रमुख एवं एसपी ओम रानाले भने ।
त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
पत्रकार गिरीलाई निशर्त रिहाईका लागि केन्द्रीय महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम थाल्ने तयारी रहेको केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए । दर्ता भएको अनलाइनलाई दर्ता छैन भनेर गलत सूचना दिने प्रेस काउन्सिलका कर्मचारीलाई समेत कारवाहीको माग गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया