बेसहाराका अभिभावक बने मेयर

समाधान संवाददाता २०७६ वैशाख १० गते १३:२६

समाधान संवाददाता, दमौली

तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका छन् । न्यौपानेले व्यास नगरपालिका ७ कलेस्तीकी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराएका हुन् ।

कुमाल कक्षा २ उत्तीर्ण भई कक्षा ३ मा भर्ना भइन् । आइतबार विद्यालयमा उपस्थित भई नगर प्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गरेको वडाध्यक्ष शतिश न्यौपानेले बताए । कुमालको कक्षा १२ सम्मको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च आफूले बेहोर्ने प्रतिबद्धता न्यौपानेले जनाएका छन् । उनले भने, ‘म नगर प्रमुखको पदमा बहाल नरहे पनि कक्षा १२ सम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु ।’

Advertisement

नगर प्रमुख न्यौपानेले कुमाललाई राम्रोसँग पढेर ठूलो मान्छे बन्नसमेत सुझाव दिए । कुमालकी आमाले घर छाडेर हिँडेपछि बुबाले अर्को विवाह गरेका हुन् । अहिले उनी हजुरबुबा र हजुरआमासँग बस्छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया