लाइभ च्याटमा गफिन थाले मेयर

समाधान संवाददाता २०७६ वैशाख १३ गते ८:४४

समाधान संवाददाता

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र धुलिखेल नगरपालिकाका मेयर समेत रहेका नेपाल नगरपालिका महासंघ अध्यक्ष अशोककुमार ब्याञ्जु बिहीबार भिडियोबाटै गफिए । ब्याञ्जुसँग पोखराका मेयर जिसीले स्थानीय सरकार गठन भएको २ वर्ष बितिसक्यो । संघले के काम गर्दैछ ? भन्ने प्रश्न राखे ।

नगरपालिका संघ अध्यक्ष ब्याञ्जुले संस्थाले सरकारले तोकेको अधिकार क्षेत्रभित्र रहेरै काम कारबाही अघि बढाइरहेको बताए । जवाफमा उनले भने, ‘अहिले हामी संस्थागत सुदृढीकरण गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने लगायतका काम गर्दैछौं ।’

Advertisement

पोखराका मेयर मानबहादुर जिसीले स्थानीय तहका अझै सयौं कानुन तथा नीति नियम बन्न बाँकी रहेको र त्यसलाई छिटोभन्दा छिटो बनाउन संघको भूमिका के रहन्छ भन्ने जिज्ञासा प्रकट गरे । संघका अध्यक्ष ब्याञ्जुले एकल अधिकार प्राप्त भएका कानुन तथा नीति नियम बनाइसकेको र बाँकी कानुनहरुसमेत लेख्ने र व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए ।

मेयर ब्याञ्जुले बाँकी रहेका कानुनहरु बनाउन काठमाडौं विश्वविद्यालयसँग समन्वय गरिरहेको र ती कानुन क्रमश बनाउँदै जाने पोखराका मेयर जिसीलाई ‘भिडियो रिपोर्टिङ’ गरे । ‘स्थानीय तहका कानुन, कामकारबाही र नीति नियमबारे बुझ्न, सच्याउन, सहकार्य तथा समन्वय गर्न लबिङ सेन्टर बनाउँदैछौं,’ उनले भने, ‘७ वटा प्रदेशमा ९ लबिङ सेन्टर बनाउँदैछौं ।

Advertisement

गण्डकीका लागि पोखरा महानगरलाई तोकेका छौं । त्यसले प्रदेशका सम्पूर्ण नगरपालिका हेर्नेछ ।’ उनले लबिङ सेन्टरले अनुभव आदानप्रदान गर्ने, एउटा नगरपालिका र अर्को नगरपालिकाबीच सिक्ने तथा नीति नियम र कानुनबारे प्रष्ट पार्न सहयोग गर्ने सुनाए ।

पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’ सेन्टर भएको छ । यही कार्यक्रम अन्तर्गत बिहीबारदेखि भिडियो ‘कन्फ्रेन्स प्रविधि’ सुरुआत भएको हो । प्रविधिको उद्घाटनका क्रममा मेयर जिसी र ब्याञ्जुले आपसमा भिडियाबाटै कुराकानी गरेका हुन् । मेयर जिसीले प्रविधिको सुरुआत गर्दै गण्डकी प्रदेशका सबै नगरपालिका अब पोखरा महानगरपालिकासँग जोड्ने काम पनि सुरु भएको बताए ।

मेयर जिसीले वडावडामा यो प्रविधि पु¥याएर कामकारबाहीबारे जानकारी लिने बताए । ‘अब वडावडामा यो प्रविधि लागु हुन्छ । त्यसो भयो भने कुनै पनि वडाध्यक्ष फाइल बोकेर हस्याङफस्याङ गर्दै महानगर धाउनु पर्दैन,’ मेयर जिसीले भने, ‘भिडियोबाटै अब सबै काम गर्न सकिन्छ ।’

पोखरा महानगरपालिका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले पोखरा महानगर ‘भच्र्युअल गर्भनेन्स’ तर्फ उन्मुख भएको बताए । उनले भिडियोबाटै बैठक तथा सेमिनार गर्न सकिने जानकारी दिए । ‘अब भौतिक शरीरले पर पार्दैन । गाडी, प्लेन चढेर लामोलामो दुरी पुगिरहनु पनि पर्दैन,’ उनले भने, ‘यसले वडा र महानगरको दुरी छोट्याउने काम गरेको छ ।’ उनले अन्य स्थानीय तहसँग ‘कम्युनिकेट’ गर्न पनि सजिलो भएको दाबी गरे ।

नेपाल नगरपालिका संघले ७ प्रदेशका ९ वटा ठाउँमा ‘लबिङ सेन्टर’ बनाइरहेको र त्यसैमा पोखरा महानगरमा पहिलो पटक सुरुआत गरिएको नगरपालिका संघका कार्यकारी सचिव कलानिधि देवकोटाले जानकारी दिए । नेपाल एजुकेसन रिसर्च नेटवर्कसँगको सहकार्यमा भिडियो कन्फ्रेन्स सिस्टम लागू गर्न लागेको उनले बताए । ‘पछि सबै लबिङ सेन्टरमा यही रिसर्च सेन्टरले भिडियो कन्फ्रेन्सका लागि व्यवस्थापन मिलाउन सहयोग गर्नेछ,’ उनले भने, ‘सबै स्थानीय तहदेखि केन्द्रसम्मलाई एकै ठाउँमा जोड्न यो प्रविधि लागु गरेका हौं,’ उनले भने ।

देवकोटाले भिडियो कन्फ्रेन्स प्रविधि लागु भइसकेपछि सबै स्थानीय तहबीच समानान्तर सिकाइ हुने विश्वास व्यक्त गरे । ‘बढी जान्नेले कम जान्नेलाई सिकाउने होइन । यस प्रविधिबाट समानान्तर सिकाइ हुनेछ,’ उनले भने, ‘सबै स्थानीय तह ‘नेटवर्क र कम्युनिकेसन’ गर्ने थलोका रुपमा यो प्रविधि भरपर्दो हुनेछ । यो साधन हो, साध्य होइन ।’

पोखरा महानगरमा ‘भिडियो कन्फ्रेन्स’ प्रविधि लागु गर्न संघले झण्डैं ५ लाख रुपैयाँ लगानी गरेको छ । चालु आर्थिक वर्षमा उक्त योजना वडागत रुपमै लागू गराउन महानगरले कुल ३० लाख बजेट विनियोजन गरेको थियो । तर नेपाल नगरपालिका महासंघले महानगरमा ढिला गरी मात्र उपकरण उपलब्ध गराएकोले असारमसान्त भित्रमा नै इच्छुक वडामा ‘भिडियो कन्फ्रेन्स’ सुविधा पु¥याउन चुनौती देखिएको छ ।

‘एक्सप्लोर पोखरा’ शुभारम्भ
पोखरा महानगरपालिकाले यहाँ आउने पर्यटक र नगरबासीको सहायताका लागि म्याप बुक शुभारम्भ गरेको छ । वेभसाइटमा ‘प्रि पियेर पोखरा डट ओआरजी’ र मोबाइल एप ‘एक्सप्लोर पोखरा’ सञ्चालनमा ल्याइएको हो ।

इन्टरनेटको सहायतामा कुनै पनि व्यक्तिले सहजै आफू जान चाहेको स्थान, सरकारी कार्यालय, अस्पताल, बैंक वित्तिय संस्था सहित थुप्रै अन्य जानकारी सम्पर्क नम्बर पाउन सक्नेछन् । एप मार्फत होटल, विद्यालय, स्वास्थ्य चौकी, पेट्रोल पम्प रहेको स्थान, सडक मार्गहरुको बारेमा समेत सहज रुपमा जानकारी पाउनेछन् ।

अमेरिकी सहयोगी संस्था सेकेन्डरी सिटिज प्रोजेक्ट अन्तर्गत ह्युम्यानिटेरियन इन्फर्मेसन युनिट (एचआइयु)को सहयोगमा काठमाडौं लिभिङ ल्याब्सले सो एप तथा वेभ तयार गरेको हो । विश्वमा नयाँ प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला पोखरा महानगरपालिकाले समेत आफूलाई सोही मार्गमा डोहो¥याउँदै आधुनिक प्रविधिमैत्री बनाउने दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया