परीक्षा बिथोल्न खोजेको आरोपमा पोखरा विश्वविद्यालयबाट ११ विद्यार्थी पक्राउ

समाधान संवाददाता २०७६ वैशाख १६ गते १४:३२

ईश्वर देवकोटा, पाेखरा

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय परीसरमा विरोध प्रदर्शनमा उत्रिएका ११ विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । सम्बन्धन प्राप्त ४२ क्याम्पसका ‘डि प्लस’ विद्यार्थीलाई रजिस्ट्रेसन लिई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेश विरुद्धमा विद्यार्थी शुक्रबारदेखि आन्दोलित छन् ।

विश्वविद्यालयले आज सोमबारदेखि सञ्चालन गरेको सबै संकायका सेमेष्टर अन्तर्गतको अन्तिम परीक्षामा सहभागि हुन जाने विद्यार्थीलाई अवरोध पुर्‍याएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, सरोज शाह, प्रविण ओझा, राधव तिवारी, सुस्मा गौतम र विकास रानाभाट छन् । पक्राउ ८ जनालाई वडा प्रहरी कार्यालय रामबजारको नियन्त्रणमा राखिएको छ । बाँकी असिम पौडेल, अशोक तिवारी र मदन साउदलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको एसपी रानाले बताए ।

‘परीक्षा सञ्चालन हुने समयमै परीक्षामा सहभागि हुन जाने विद्यार्थीलाई असहज गराएपछि पक्राउ गरेका हौं,’ एसपी रानाले भने ।

Advertisement

विश्वविद्यालयले स्नाततक तह व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा १ वा सोभन्दा बढी विषयमा न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्ने प्रावधान बनाएको भएपनि सम्बन्धन प्राप्त काठमाडौंका ४२ कलेजले ‘डि ल्पस’ ग्रेड ल्याएका विद्यार्थी भर्ना लिएपछि तनाव उत्पन्न भएको हो ।

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थी संगठनले उक्त कलेजलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।
सर्वोच्चले सम्बन्धन प्राप्त क्याम्पसमा भर्ना भई शुल्क बुझाएर नौ महिनासम्म निरन्तर पढिरहेका विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्न नहुने आदेश गरेको थियो ।

३ सय ४४ विद्यार्थीलाई पोखरा विश्वविद्यालयको परीक्षा समितिले परीक्षामा सामेल गारउने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया