शीतलले ल्याए सालिक

समाधान संवाददाता २०७६ वैशाख २९ गते १६:३४

समाधान सम्वाददाता

शीतल गिरीले पहिलो मुक्तक संग्रह ल्याएका छन् । मुक्तक मञ्च पोखराले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले शनिबार उनको किताब ‘सालिक’ विमोचन गरे । त्यस अवसरमा साहित्यकार सरुभक्तले मुक्तक छोटोमा धेरै भन्ने कला भएको विचार राखे ।

‘गागरमा सागर भनेजस्तै छोटोमा धेरै भनिन्छ मुक्तकमा,’ उनले भने, ‘त्यसैले सर्जक धेरै जिम्मेवार हुनुपर्छ ।’ उनले भावहरु संकेन्द्रित गरी मुक्तक लेख्नु ठूलो चुनौती भएको विचार पनि व्यक्त गरे । उनले भने, ‘यो हतारको साहित्य होइन, गम्भीरतापूर्वक पढ्नुपर्ने र चिन्तन गर्नुपर्ने विधा हो ।’ मुक्तकका ४ लाइनबाट मान्छेको विचार परिवर्तन हुने सरुभक्तको भनाइ थियो । ‘विचार परिवर्तन गर्छ, मान्छेलाई बाँच्न प्रेरित गर्छ,’ उनले भने ।

Advertisement

मुक्तककार गिरीले आत्मसन्तुष्टिका लागि लेखेको बताए । ‘मेरो पहिलो प्रयास हो, कमजोरीसहितको मान्छे हुँ, कमजोरी स्वीकारिदिनुहोला,’ उनले भने । ‘सालिक’ गिरीको पहिलो पुस्तक कृति हो । उनले लेखेको ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा…’बोलको गीत निकै चर्चित छ ।
गिरीको संग्रहका २ मुक्तक श्रीराम अधिकारी गोर्जे र अनीता दाहालले बाचन गरे । गीतकार मन क्षेत्रीले शीतल गिरीको परिचय सुनाए । उनले भने, ‘शीतलका गीतको संग्रह पनि निकाल्न सकिनेखालका छन् ।’

कार्यक्रमको दोस्रो सत्रमा मुक्तक बाचन भएको थियो । मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षता र सचिव रामजी आचार्यको सञ्चालनमा भएको कार्यक्रममा लक्षमण थापा, मन क्षेत्र, अनीता दाहाल, बिर्सना बस्नेत, राजीव रिमाल, अल्पज्ञानी, प्रकाश ज्ञवाली, सत्यम, भरत उप्रेती, गीता तिवारी, रोशन तल्कोटे, रिदिमा रिमाल, श्रीराम अधिकारी गोर्जे लगायतले मुक्तक सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया