पढाऔं अभियानमा छात्रवृत्ति

समाधान संवाददाता २०७६ जेठ २ गते १४:१४

राजन उपाध्याय
दुलेगौंडा

लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालले पढाऔं अभियान अन्तर्गत बुधबार तनहुँ, लमजुङ र गोरखाका १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । भीमादको नर आधारभूत विद्यालय, शुक्लागण्डकीको गाउँफर्कोदय मावि, लमजुङको शान्ति मावि, गोरखाको भवानी माविसहित ११ विद्यालयका छात्रछात्रलाई ४÷४ हजार रुपैयाँ प्रदान गरिएको हो ।

दुलेगौंडामा आयोजित सो कार्यक्रममा प्रदेश सांसद आशा कोइरालाले छात्रवृत्ति प्रदान गर्दै प्राप्त रकमको सदुपयोग गर्न आग्रह गरिन् । उनले पढाऔं अभियान सरकारको साक्षरता अभियानमा पनि योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

Advertisement

लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालका पूर्व गभर्नर लायन्स धनराज आचार्यले यस क्षेत्रमा रहेका ४० वटा क्लब र व्यक्तिबाट संकलित कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । ‘साना कक्षाकालाई ४ हजारदेखि कलेजस्तरका विद्यार्थीलाई २२ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिँदै आएको छ, उनले भने, न्यूनतम ५० हजार रुपैयाँको कोष स्थापना गरिएको छ ।’ उनले यस वर्ष ३ सय ८७ विद्यार्थीलाई १९ लाख ८६ हजार बराबरको छात्रवृत्ति प्रदान गरिने बताए ।

२ सय ३५ क्लब र दाताबाट हालसम्म २ करोड २५ लाख रुपैयाँ अक्षयकोष स्थापना भइसकेको उनले उल्लेख गरे । पूर्व गभर्नर दीपक श्रेष्ठले शिक्षाबाट बञ्चित र आर्थिक अवस्था कजजोर रहेका बालबालिकालाई विद्यालयसम्म जाने वातावरण बनाउन पढाऔं अभियान सुरुआत गरिएको जानकारी दिए । ‘हामीले रकम सहयोग गरेका छौं,’ उनले भने, ‘अब विद्यार्थी भाइबहिनी र विद्यालयले समेत यसको सदुपयोग गर्नुपर्छ ।’

Advertisement

आचार्य आफू गभर्नर भएपछि ‘पढाऔं अभियान’ कार्यक्रम सार्वजनिक गरेका थिए । सामाजिक क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लायन्सले शिक्षामा योगदान पु¥याउने लक्ष्यसहित यो अभियान सञ्चालन गरेको हो । अभिभावकको तर्फबाट इन्द्रबहादुर अधिकारीले छात्रवृत्तिको रकम अन्य क्षेत्रमा खर्च नगर्न आग्रह गरे । सो अवसरमा चन्द्रविक्रम अधिकारी, दुर्गाकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया