गोरखाली समाज यूके ट्रस्टमार्फत् शैक्षिक सहयोग

समाधान संवाददाता २०७६ जेठ २ गते १४:४७

शैक्षिक सामग्री वितरण गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखाली समाज युके ट्रस्टका अध्यक्ष जयप्रकाश गुरुङ लगायत । तस्बिरः मोहसिन अलि मियाँ÷समाधान


समाधान संवाददाता
गोरखा

गोरखाली समाज यूके ट्रस्टले असहाय तथा न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । गोरखा स्थायी घर भई हाल बेलायतमा बस्ने गोर्खालीको उक्त संस्थाले जिल्लाका २० वटा विद्यालयका १ सय ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

Advertisement

अघिल्लो वर्षदेखि अनाथ, असहाय, निम्न आय स्रोत भएका तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री वितरण अभियान निरन्तरता दिने ट्रस्टले जनाएको छ । ‘पैसाको कारणले विद्यार्थीले पढाइ छोड्न नपरोस् भन्ने हाम्रो मान्यता हो’ ट्रस्टका अध्यक्ष जयप्रकाश गुरुङले भने ‘२ वर्ष भयो अब हरेक वर्ष यो कार्यक्रमले निरन्तरता पाउँछ ।’

शैक्षिक सहयोग निरन्तरता दिनकै लागि गोरखाली समाज युके ट्रस्टले १ करोडको अक्षय कोषसमेत स्थापना गरेको बताएको छ । अघिल्लो वर्षदेखि सुरुआत गरिएको यस अभियानमा कक्षा ४ देखि १२ सम्म निरन्तर विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । बुधबार गोरखा सदरमुकाममा १ कार्यक्रमको आयोजना गरी सम्बन्धित विद्यालयका शिक्षक, व्यवस्थापन समितिका प्रतिनिधि, विद्यार्थीसमेतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको गोरखा कार्यक्रम संयोजक शरण श्रेष्ठले जानकारी दिए ।

Advertisement

ट्रस्टका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरप्रमुख पन्तले सामुदायिक विद्यालयलाई अब्बल बनाउनुपर्नेमा जोड दिए । ‘सामुदायिक विद्यालयमा सुधारको खाँचो छ, सबैको साथ र सहयोगको खाँचो छ’ पन्तले भने, ‘अब अरुको मुख ताक्ने होइन, आफ्नो विद्यालय बनाउन आफैं लाग्ने हो, त्यसका लागि हामी सहकार्य गर्न तयार छौँ ।’

यस वर्ष ट्रस्टले गोरखा नगरपालिकाको महेन्द्रज्याेित मावि, पालुङटार नगरपालिकाको त्रिवेणी मावि, सिरानचोक गाउँपालिकाको चन्द्रोदय मावि, आहाल भञ्ज्याङ मावि, झिम्रेक मैपते मावि, सहिद लखनको चण्डिका आधारभूत विद्यालयका १०÷१० जनालाई सामग्री वितरण गरेको हो । यस्तै अजिरकोट गाउँपालिकाको प्रभा मावि, हिमालय मावि, धनशिरा माविका १०÷१० जना जनाले शैक्षिक सामग्री प्राप्त गरे । शिवालय प्रावि, जवनज्योति मावि १÷१ जना र मुच्चोकवेसी आधारभूत विद्यालय २ जनालाई ट्रस्टमार्फत छात्रवृत्ति वितरण गरिएको संयोजक श्रेष्ठले बताए ।

यसैगरी ट्रस्टले वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि, सिद्धार्थ माविका १०÷१० जना, गण्डकी गाउँपालिकाको भद्रकाली माविका ८ जना, जीवनज्योति प्राविका २ जना, धार्चे गाउँपालिकाको केरौंजा माविका १० जना, चुमनुब्री गाउँपालिकाको बुद्ध माविका १० जना, आरुघाट गाउँपालिकाको धारापानी माविका ११ जना र भीमसेन थापा गाउँपालिकाको जागेश्वर माविका १० जनालाई ट्रस्टले शैक्षिक सामग्री वितरण गरेको हो । ट्रस्टले प्रति विद्यार्थी १ झोला, २ सेट ड्रेस, ३ दर्जन कापी र १ दर्जन कलम वितरण गरिएको कोषाध्यक्ष भीमप्रसाद तामाङले बताए ।

तपाईको प्रतिक्रिया