गल्ती ढाकछोप गर्न गापा अध्यक्ष र उपाध्यक्षको नक्कली माइन्युट

समाधान संवाददाता २०७६ जेठ ३ गते ११:११

आस गुरुङ, लमजुङ

‘गाउँपालिकाको पैसा जनप्रतिनिधिको खातामा’ शीर्षकको समाचार वैशाख २४ मा खोज पत्रकारिता केन्द्रबाट प्रकाशित भएपछि लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गल्ती ढाकछोप गर्न नक्कली माइन्युट तयार पारेका छन् ।

सदरमुकाम बेसीसहरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले माइन्युटको फोटोकपी वितरण गरेका थिए, जुन नक्कली भएको स्पष्ट देखिन्छ ।

Advertisement

जलविद्युत आयोजनाले विनियोजन गरेको रकम गाउँपालिकाको खातामा नराख्ने निर्णय गरेको भनी माइन्युटमा थप गरिएको छ, जुन कुरा सक्कली माइन्युटमा छैन । पत्रकार सम्मेलनमा संविधान सभा सदस्य समेत रहेका तत्कालीन नेकपा एमालेका नेता जमीन्द्रमान घले, दोर्दी गाउँपालिकाका नेकपाका अध्यक्ष युवराज अधिकारीसहित नेता कार्यकर्ता उपस्थित थिए । माइन्युटमा अक्षर फरक रहेको पत्रकारको जिज्ञासामा गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले केही नथपिएको दाबी गरे ।

दोर्दीखोला करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाले छुट्याएको रकम गाउँपालिकाको खातामा हाल्न नमिल्ने भनेपछि जनप्रतिनिधिको निजी खाता खोली रकम राखेको गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए ।

Advertisement

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन ४ जलविद्युत आयोजनाले सडक बनाउन दोर्दी गाउँपालिकाका लागि विनियोजन गरेको १ करोड मनोमानी खर्च गरिएको छ । यसबारे गाउँसभामा त जानकारी गराइएको छैन नै, गाउँपालिकाका सदस्यहरुसमेत बेखबर छन् ।

दोर्दी करिडोरमा निर्माणाधीन ४ जलविद्युत आयोजनाले नौथर सेरा छोटे खोला ताँजे सडकका लागि चालुु आर्थिक वर्षमा प्रति आयोजना २५ लाख दोर्दी गाउँपालिकाका नाममा छुट्याएका छन् । त्यसमध्ये ३५ लाख निकासा भइसकेको छ भने ६५ लाख निकासा हुन बाँकी छ । लमजुुङमा निर्माणाधीन १२.५ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना, २७ मेगावाटको दोर्दी खोला आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए र ५४ मेगावाटको सुपर दोर्दी जलविद्युुत आयोजनालाई दबाबमा पारेर गाउँपालिकालाई बजेट दिन बाध्य पारिएको हो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दीलबहादुर घले र चोलाकान्त ज्ञवाली सम्मिलित सडक स्तरोन्नति अनुगमन मूल्यांकन समितिको नाममा खोलिएको जनता बैंकको संयुक्त खाता नम्बर हो ०९५००३०६३७४४२०१ । त्यसैमा वैशाख २०७६ सम्ममा ४ जलविद्युत आयोजनाले पहिलो किस्तावापत ३५ लाख रुपैयाँ जम्मा गरी खर्च समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया