सीमान्त कुसुण्डा बालबालिकालाई सहयोग

समाधान संवाददाता २०७६ जेठ ३ गते १२:२३

समाधान संवाददाता
दमौली

अति लोपोन्मुख जातिको रुपमा रहेको कुसुन्डा परिवारको बालिकालाई साभ नेपालको पहलमा शैक्षिक सामग्री सहयोग गरिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं १० डिहीगाउँस्थित सतीश बोर्डिङ स्कुलमा अध्ययनरत सीमान्त कुसुन्डाको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको हो ।

करिब १० हजार मूल्य बराबरको शैक्षिक सामग्री विद्यालयमै पुगेर साभ नेपालका अध्यक्ष तुलसी प्रवासले बिहीबार आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती र व्यास नगरपालिका वडा नं १० का सदस्य सूर्य मिश्रको रोहवरमा सीमान्तलाई हस्तान्तरण गरे ।

Advertisement

सीमान्तको शैक्षिक र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको साभले सोही अभियान मार्फत् १ वर्षका लागि पुग्ने शैक्षिक सामग्री उपलब्ध गराएको प्रवासले जानकारी दिए । उनका अनुसार झोला, पुस्तक, कापी, पेन्सिल लगायतका सामग्री प्रदान गरिएको छ ।

सीमान्तको मासिक शुल्कका लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने सो अवसरमा वडा सदस्य मिश्रले प्रतिबद्धता जनाए । साथै विद्यालयका प्रिन्सिपल दीर्घ दरैले समेत विद्यालयको तर्फबाट पनि सीमान्तको शुल्कका लागि सहयोग गर्ने आश्वासन दिए ।

Advertisement

सीमान्तलाई १२ कक्षासम्म अध्ययनका लागि चाहिने सम्पूर्ण सामग्री साभ नेपालको पहलमा उपलब्ध गराइनेछ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले केही समय अगाडि कुसुन्डा सहयोग अभियानको औपचारिक रुपमा घोषणा गरेको थियो । सीमान्त चार कक्षामा अध्ययनरत छिन् ।

तपाईको प्रतिक्रिया