घाँटु हाम्रो पहिचानः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ जेठ ६ गते १२:०६

समाधान संवाददाता, लमजुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घाँटु नाचको संरक्षणमा स्थानीय स्तरबाटै प्रयास गरिनुपर्ने बताएका छन् । गुरुङ जातिको मात्र नभइ घाँटु प्रदेशकै पहिचान भएको भन्दै उनले यसको संरक्षण हुनुपर्ने धारणा राखे ।

घाँटु आफूले धेरै ठाउँमा देखेको भन्दै उनले भने, घाँटु नाच इतिहांसको विरासत हो, हाम्रो पहिचान हो । उनले बास्तविक घाँटु यही क्षेत्रमा नाचिने गरेको बताए । घाँटु नाच विशेष गरी सती, कुसुण्डा र बाह्रमासे गरी तीन थरी रहेपनि ठावैपिच्छे फरक देखेको उनले अनुभव सुनाए ।

Advertisement

मुख्यमन्त्री गुरुङ आफ्नै गाउँ लमजुङको क्व्होलासोँथर ९ टक्सारमा वैशाख पूर्णिमामा आयोजित घाँटु कार्यक्रममा बोल्दै थिए । घाँटु गाउने चलन नया पुस्तामा नसरेको भन्दै उनले लोप हुने चिन्ता देखाए । घाँटु गुरुहरु ८० वर्ष पुगिसकेकाले उनीहरुको अवसानसँगै घाँटुको अवसान हुन सक्ने भन्दै नयाँ पुस्तालाई सिक्न आह्वान गरे । घाँटु संरक्षण गर्न जनस्तरबाटै आर्थिक संकलन भएको भन्दै यो क्रम अझ बढेर जाने समेत उनले बताए ।

घाँटु नाच प्रति आफ्नो गर्व र सम्मान रहेको भन्दै उनले गण्डकी सरकार यसको संरक्षण र संवद्र्धनमा सचेत रहेको बताए । वैशाख पूर्णिमामा तीन दिनसम्म नाचेर सेलाइने घाँटु नाचमा राजारानीको कथालाई गीति भाकामा गाइन्छ । सोही तालमा घाँटुनीहरु नाच्छन् ।

Advertisement

अर्को प्रसंगमा मुख्यमन्त्री गुरुङले अब गाउँलेहरु नयाँ ढंगले अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । गाउँमा बाटो, बिजुली, स्कुल, अस्पताल लगायत आधारभुत आवश्यकता पुरा भइसक्दा समेत गाउँलेहरु सहर झर्ने क्रम नरोकिएको भन्दै उनले भने, अब हाम्रो सोंच बदल्नुपर्ने भएको छ, नयाँ दशामा अघि बढ्ने बेला आएको छ । गुरुङले केही वर्षभित्र गाउँगाउँका सडक ग्राभेल र कालोपत्रे हुने बताए । अब गाउँमा व्यावसायिक रुपमा उत्पादनमा लाग्नुपर्ने भन्दै यसका लागि गण्डकी सरकारले सहयोग गर्ने बताए ।

यस वर्षमात्र गण्डकी सरकारले ग्रामीण पर्यटनमा ३० करोड र कृषि उत्पादनमा ४० करोड लगानी गरेको बताए । आफ्नो गाउँबाट एउटा पनि निवेदन नआएको भन्दै गुरुङले कृषि फार्म चलाउन र होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।

कार्यक्रममा पाँचगाउँ टक्सार समाज युकेले ८० हजार, लमजुङ पाँचगाउँ टक्सार गुरुङ समाजले ४५ हजार, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनका धर्मपत्नी एवं क्व्होलासोंथर गाउँपालिका उपप्रमुख कुमारीमुनि गुरुङद्वारा २५ हजार, नेकपा नेता मीना गुरुङ र उनका श्रीमान ओमकुमार गुरुङद्वारा १० हजार पाँच, सांसद चन्द्रमोहन गौचनद्वारा १० हजार, एलिना गुरुङ, उनका श्रीमान ओमित गुरुङद्वारा १० हजार पाँँच र गाउँले छोरीचेली समूह पोखराबाट १५ हजार र राजु गुरुङले ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको स्थानीय शिक्षक इमप्रसाद गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया