एनसेल–पुल्चोक क्याम्पस छात्रवृत्ति तथा सम्मान सहमति

समाधान संवाददाता २०७६ जेठ ७ गते १६:२४

समाधान संवाददाता
पोखरा

एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ ५ वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । सहमति अनुसार इन्जिनियरिङ तर्फका थप २ संकाय पनि यसमा समावेश हुने छन् ।

व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग गर्दै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान गर्ने लक्ष्य लिइएको छ । सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ देखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाखको छात्रवृत्ति तथा पुरस्कार दिनेछ ।

Advertisement

एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिश्क गयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा रामचन्द्र सापकोटाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्ने सहमति छ ।

एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीलाई उच्च लगन र मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको राशि १ लाख छ । ‘हामी २१ औं शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरुसँग सहकार्य गर्न चाहन्छौं,’ एनसेलका वित्तीय प्रमुख विक्रमाले भने ।

Advertisement

यसअघि ५ वर्षको अवधिमा ६० विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका थिए भने २० जनालाई एनसेल उत्कृष्टता सम्मान दिइएको थियो । सस्थानका डिन सापकोटाले भने, ‘थप २ संकाय सिभील र मेकानिकल पनि यस कार्यक्रममा समावेश गरिएका छन् । अब यसले थप प्रतिभालाई सम्मान र प्रेरणा प्रदान गर्नेछ ।’ एनसेल छात्रवृत्ति विभिन्न ५ संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा प्रदान गरिन्छ ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १ जना र यी पाँचै संकायका छात्रामध्ये सर्वोत्कृष्टले पाउँछन् ।

एनसेलले २०१० देखि व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका १४ छात्रालाई ११ देखि स्नातकसम्म छात्रवृत्ति प्रदान गरेको थियो । डिजिटल शिक्षामा योगदान पुर्‍याउन कम्पनीले १६ वटा विद्यालयमा डिजिटल पुस्तकालय निर्माण गरेको छ ।

४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि एनसेलले सहयोग प्रदान गरेको छ । एनसेलले अहिलेसम्म नेपालको शिक्षा क्षेत्रमा १० करोडभन्दा बढी लगानी गरेको छ । यसबाट २५ हजारभन्दा बढी विद्यार्थीले लाभ लिएको कम्पनीको दाबी छ ।

तपाईको प्रतिक्रिया