होमस्टे प्रवद्र्धनमा जुटे पस्लाङवासी

समाधान संवाददाता २०७६ जेठ ९ गते १४:३७

मोहसिन अली मियाँ
गोरखा

गोरखा नगरपालिका ५ पस्लाङका स्थानीय होमस्टे प्रवद्र्धनमा जुटेका छन् । गोरखा बजारबाट २ किलोमिटरमा रहेको पस्लाङ होमस्टे २०६९ सालबाट सुरु भएको हो । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले होमस्टे सञ्चालन भएका घरहरुमा क्षति गरेपछि २ वर्ष होमस्टे रोकियो ।

त्यो मगर समुदायको बसोबास रहेको पस्लाङका २९ घरमा होमस्टे थियो । होमस्टेलाई अझै परिस्कृत र नमुना बनाउनका लागि पस्लाङका ३० जनालाई होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम दिइएको छ ।

Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको तारा गाउँ विकास समितिको आयोजना तथा प्राविधिक सहयोगमा जेठ ५ गतेदेखि सुरु भएको तालिममा होमस्टेको मुख्य उद्देश्य, खानपान, प्रचारप्रसार र व्यवस्थापनका विधि सिकाइएको पस्लाङ होमस्टे व्यवस्थापन समिति अध्यक्ष मानबहादुर रानाले बताए । ‘हामी बजार नजिक छौं तर पनि सोचे अनुसार पर्यटक भित्र्याउन सकेको अवस्था छैन’, अध्यक्ष रानाले भने, ‘सबै जुटेर तालिम लिएका छौं । सिकेका कुरा आगामी दिनमा लागू गर्दै पर्यटन विकासमा लाग्छौं ।’

६ वर्षअघि गोरखा उद्योग वाणिज्य संघको पहलमा पस्लाङमा होमस्टे सुरु भएको थियो । भूकम्पअघि मौलिकता झल्कने घर रहेको यस गाउँमा अहिले त्यस्ता घरे देखिन छाडेका छन् । ‘पहिलाका घर भूकम्पले लडिगए, अहिले नयाँ बनाउदा हामीले भने अनुसार बनाउन पाएनौ’, अध्यक्ष रानाले भने, ‘प्राविधिकले भनेअनुसार घर बनाउदा मौलिकता हरायो ।’

Advertisement

४ दिनसम्म चलेको होमस्टे पर्यटन विकास तालिम बुधबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले समापन गरे । पन्तले भरपुर स्थानीय उत्पादन र स्रोत साधनको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के, तालिम प्रशिक्षक श्याम खड्का, तारा गाउँ विकास समितिका शाखा अधिकृत शम्भु कार्की, सहभागाीहरु तिलकुमारी राना मगर, जुनबहादुर मगर र चाँदनी थापामगर लगायतले बोलेका थिए । तालिममा २९ प्रकारका खानेकुरा पकाउन सिकाइएको थियो ।

तपाईको प्रतिक्रिया