इदमा बिदा नदिए आन्दोलनः मुस्लिम संघ

समाधान संवाददाता २०७६ जेठ १६ गते ११:२५

मोहसिन अली मियाँ
गोरखा

सरकारले इद लगायतका धार्मिक बिदा कटौती गरेर अन्याय गरेको नेपाल मुस्लिम संघले आरोप लगाएको छ । बुधबार सदरमुकाममा नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमासंघका केन्द्रीय अध्यक्ष अब्दुल सत्तारले केपी ओली सरकारले मुस्लिम लगायत बिभिन्न जातजाति तथा धर्मावलम्बीको पर्व बिदा कटौती गरेर धार्मिक आस्थामाथि प्रहार गरेको बताएका छन् ।

‘६२÷६३ को आन्दोलनसंगै आएको परिवर्तनपछि मुस्लिमले पनि इदमा बिदा पाउदै आएका थिए, तर अहिलेको सरकार गठन भएलगत्तै बिदा कटौती गरियो,’ अध्यक्ष सत्तारले भने, ‘यो सरासर गलत छ, सरकारले धार्मिक स्वतन्त्रता र आस्थामाथि प्रहार गर्न खोजेको छ । यो हामीलाई कुनै हालतमा मान्य हुँदैन ।’

Advertisement

अघिल्लो वर्षदेखि बिदाका लागि मुस्लिम संघ आन्दोलनमै रहेको बताउँदै उनले अब पनि माग सुनुवाइ नभए कडा आन्दोलनमा जानुको विकल्प नरहेको बताए । देशभरि नै मुस्लिम समुदायको बसोबास रहेको भन्दै सत्तारले अहिले रमजानको व्रत चलिरहेको र २६ औ दिनको व्रतसम्म पनि सरकारले बिदा घोषणा नगरे चरणवद्ध आन्दोलनका गर्ने चेतावनी दिए । ‘अघिल्लो साल सरकार गठन भएलगत्तै इद, ल्होसार, क्रिसमस लगायतका बिदा कटौती भए’, उनले थपे, ‘अब पनि बिदा घोषणा नभए नेपाल बन्दसम्मका आन्दोलन गर्न हामी बाध्य हुन्छाैं ।’

इद मुस्लिम समुदायको मात्रै नभएर सम्पूर्ण नेपालीकै साझा पर्व भएकाले तत्काल बिदा दिन संघले माग गरेको छ । नेपाल प्रेस युनियन गोरखा अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका केन्द्रीय महासचिव मुख्तार अहमदले सरकार मुस्लिमका मात्रै नभई सबै जातजातिका अधिकार खोस्न खोजेको आरोप लगाए । यसअघि इदुल फित्र, इदुल अज्हा र मुहम्मद जयन्तीमा बिदा दिइन्थ्यो ।

Advertisement

तपाईको प्रतिक्रिया