सुनको भाउ एकैदिनमा तोलामा १५ सय बढ्यो

समाधान संवाददाता २०७६ जेठ १७ गते १४:३३

समाधान संवाददाता, काठमाडाैं

भन्सार दर बढेसँगै सुनको मूल्य ह्वात्तै बढेको छ । एकै दिन प्रतितोला १५ सय रूपैयाँले सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६१ हजार रूपैयाँ पुगेको छ ।

Advertisement

सुनको मूल्य बढ्नुको मुख्य कारण आगामी आर्थिक वर्षको बजेटमा सुन तथा चाँदी जस्ता बहुमूल्य धातुमा बढाइएको भन्सार दर प्रमुख कारण भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

‘सुनको मूल्य बढ्नुका विभिन्न कारण छन । जसमध्ये मूख्य कारण भन्सार दर नै हो’ उनले भने ‘एक केजी सुनमा ८० हजार रुपैयाँ भन्सार शुल्क बढेको छ ।’

Advertisement

महर्जनका अनुसार बजेट भाषण हुनुभन्दा अगाडि १ किलो सुनको भन्सार शुल्क ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो भने बजेटपछि १ किलो सुनको भन्सार मूल्य ५ लाख रुपैयाँ पुगेको छ ।

भन्सार शुल्कका अलवा अन्तर्राष्ट्रिय बजारमा पनि सुन महँगिदा असर परेको महर्जनले बताए। अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस १२ सय ८० देखि १२ सय ८५ डलरमा सुनको कारोबार भएको थियो । आज शुक्रबार यो मूल्य बढेर १२९५ डलरको हाराहारीमा पुगेको छ ।

अर्कोतर्फ बिबाह, ब्रतवन्ध जस्ता कार्यहरु हुने भएकाले पनि बजारमा सुनको माग अत्याधिक बढेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार अहिले दैनिक औसत ३० केजी सुनको माग रहेको छ ।

बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुनचाँदी लगायतका बहुमुल्य धातु बैंकमा निक्षेपस्वरुप राख्न सकिने व्यवस्था गरिने घोषणा गरेका थिए । यसले समेत आगामी दिनमा बजारमा माग बढ्न सक्ने महर्जनले बताए ।

तपाईको प्रतिक्रिया