पालुंटारमा ‘हेलो मेयर’

समाधान संवाददाता २०७६ जेठ २१ गते ११:४२

मोहसिन अलि मियाँ
गोरखा

नगरबासीको गुनासो सुन्न पालुंटार नगरपालिकाले ‘हेलो मेयर’ सुरु गरेको छ । जनताको गुनासो सिधा सुन्न र सम्बोधन गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो । सेवाग्राही र नगरवासीले आफ्ना कुरा भन्न एवं गुनासो राख्न सहज होस् भन्ने उद्देश्यले ‘हेलो मेयर’ सेवा सुरु गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘सबैसँग मेरो सहज पहुँच नपुग्न सक्छ, मैले चाहेर पनि सबैका कुरा सुन्न नभ्याएको हुन सक्छु’ कडेंलले भने ‘पब्लिकको आवाज सिधै म कहाँ आओस्, र उहाँहरुको समस्या छिट्टै सम्बोधन गर्न सकियोस् भन्ने मुख्य उद्देश्य हो ।’

नगरपालिकाले जनताको गुनासो सुन्नका लागि निशुल्क टेलिफोन सेवाकोसमेत व्यवस्था गरेको छ । गुनासो टिपाउनका लागि सेवाग्राहीले पैसा नलाग्ने टेलिफोन नम्बर १६–६०–६४४२००२ मा डायल गर्नुपर्ने हुन्छ । उक्त नम्बरमार्फत आफ्नो टोल तथा छर छिमेकमा भइरहेका विकासको कार्यक्रम, सार्वजनिक संस्थाको गतिविधि, विद्यालय, स्वास्थ्य संस्था लगायत सम्पूर्ण पालुंटारका सार्वजनिक हितका विषयमा खबरदारीसहित आवश्यक रचनात्मक सुझाब दिन सकिने व्यवस्था मिलाइएको छ । ‘नगरपालिकाको कामलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस सेवाले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो’ नगर प्रमुख कँडेलले भने, ‘जनताका रचात्मक सुझावले पालुंटारको समृद्धि र विकासमा ठूलो योगदान दिनेछ ।’

Advertisement

यो सेवा सुरु भए पछि नगर प्रमुखको सम्र्पकमा नभएका सर्वसाधारण नागरिकले पनि आफ्ना कुरा भन्न सक्ने छन् । त्यस्तै जनताका गुनासा सुन्दै नगरपालिका र वडा कार्यालयको सेवा चुस्त बनाउन र सबै जनताको पहुँचमा सेवा पुर्‍याउन सेवा प्रभावकारी बन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । सिधा सेवाले नगरपालिकालाई सूचना मैत्री बनाउन सहयोग गर्ने मेयर कँडेलको अपेक्षा छ ।

जनतासँग प्रत्यक्ष सम्वादसमेत हुने विश्वास लिँदै मेयर कँडेलले भने, ‘उहाँहरुको प्रश्न एवं जिज्ञासा रेकर्डसमेत गर्न सक्नुहुन्छ’ नगरपालिकाका सूचना प्रविधि अधिकृत अशोककुमार श्रेष्ठले भने ‘मयेरसावले प्रत्यक्ष कुरा गर्न सक्नुभएन भने पनि पछि सुनेर त्यसको जवाफ दिनुहुनेछ ।’ सेवा हिजो सोमबारबाट सुरु भएको श्रेष्ठको भनाई छ । यस अघि सरकारले पालुंटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया