धादिङमा गुण्डा नाइके राधेसहित पाँच पक्राउ

समाधान संवाददाता २०७६ जेठ २३ गते १२:०६

समाधान संवाददाता, धादिङ

धादिङका गुन्डा नाइके राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ धादिङ रोराङ गाउँपालिका ३ काद्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै स्थानीय सर्वसाधारणलाई कुटपिट गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीका अनुसार राधे समूहमा रहेर आपराधिक गतिविधि गर्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य र समिर थापामगरलाई पक्राउ गरिएको हो ।

‘निकासी कर उठाउने सम्बन्धमा विवाद गरी स्थानीयलाई कुटपिट गरिरहेका बेला पक्राउ गरिएको हो,’ बैदवारले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ ।

Advertisement

झगडा भइरहँदा पुगेको प्रहरीमाथि पनि राधेले आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरीको बर्दी च्यातिएको छ। एक सर्वसाधारण घाइते छन् ।

राधे तरुण दल धादिङका उपाध्यक्ष हुन् । खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट राधे समूहको गतिविधि हो । कुनै बेला एमालेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र राधेबीच धादिङमा आपराधिक गतिविधिमा प्रतिस्पर्धा हुन्थ्यो ।

प्रहरी इन्काउन्टरमा चरी मारिएपछि धादिङमा राधेको एकछत्र आपराधिक गतिविधि चल्दै आएको छ । अधिकारी र उनको समूहबीच बारम्बार झगडा परिरहन्थ्यो । त्यसक्रममा राधेले अधिकारीलाई एक पटक गोली प्रहार गरेका थिए ।

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सबैलाई जिल्ला प्रहरी कार्यालय ल्याइँदैछ । राधे समूहले गरेको पछिल्लो अपराधिक गतिविधि, कुटपिट र आक्रमणबारे पीडितले जाहेरी दिएपछि के कारबाही गर्ने भन्ने निष्कर्षमा पुगिने उनले बताए ।

तपाईको प्रतिक्रिया