गोरखा स्मारक निर्माणमा लफडाः संस्थापकबिच द्वन्द्व

समाधान संवाददाता २०७६ जेठ २६ गते ११:५६

अमृत सुवेदी
पोखरा

गोरखा सैनिकको भेदभाव र अन्यायविरुद्ध लागि आवाज उठाउने उद्देश्यले खुलेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) अहिले छिन्नभिन्न भएको छ । पदमबहादुर गुरूङको सभापतित्वमा २९ वर्षअघि खुलेको गेसोमा अहिले संस्थापकबीचै तिक्तता छ ।

कृष्णकुमार राई अहिले गेसो अध्यक्ष छन् । तर, वर्तमान अध्यक्ष राई, संस्थापक अध्यक्ष पदमबहादुर, संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङबीच व्यक्तिगत तिक्तता होइन, गेसोकै गौरवको आयोजना अलपत्र छ । विवाद अदालतसम्म पुगेको छ ।

Advertisement

नेपाल र बेलायतमा गोरखा सैनिकको अधिकारको लामो लडाइँ लडेको गेसोको अगुवाइमा स्याङ्जा फेदीखोलाको साल्मेडाँडामा ३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन स्मारक निमाणमा विवाद सतहमा आएको हो । युद्धमा मारिएकाहरुको सम्झनामा समाधिस्थल, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, ६ डिब्बाको रेलसहित स्मारक पार्क निर्माण २०६८ सालमै सुरु भएको थियो ।

सन् २०१६ मा कार्यभार सम्हालेको २ महिनामै अध्यक्ष कृष्णकुमारले गेसोले स्मारक नबनाउने घोषणा गरेका थिए । त्यहाँदेखि नै गोरखा स्मारक पार्कको योजनामा ढुंगा लाग्न सुरु गरेको हो । संस्थापक अध्यक्ष पदमबहादुरले त्यसको विरोधमा पत्रकार सम्मेलन नै गरे । संस्थापकबीच द्वन्द्व चर्किएपछि करोडौं रुपैयाँ स्मारक पार्कका लागि गोरखा सैनिकहरुबाट उठाइए पनि कामले तीव्रता पाएन ।

Advertisement

स्मारक निर्माण गर्न गोरखा स्मारक ट्रस्ट गठन गरिएको थियो । त्यही ट्रस्ट संस्थापक अध्यक्ष पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत हटाइएर उपाध्यक्ष जंगबहादुर गुरुङलाई अध्यक्ष बनाइएपछि पछि यो विवाद अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष पदमबहादुरले वर्तमान अध्यक्ष जंगबहादुर, सचिव डा. चन्द्र गुरुङ र संस्था नवीकरण गर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाएर उच्च अदालत पोखरामा रिट दायर गरेका हुन् ।

पदमबहादुरले दायर गरेको रिटमा अध्यक्षबाट अविश्वास प्रस्तावमार्फत हटाइनुको आधार खोज्दै आफैंलाई अध्यक्ष राख्न माग गरेका छन् । गेसोका संस्थापक सचिव तथा ट्रस्टका सचिव डा. चन्द्र गुरुङले संस्थालाई बचाइराख्न, उद्देश्यअनुसारको परियोजना अगाडि बढाउन पदमबहादुरले बाधा गरेकाले अविश्वासको प्रस्तावमार्फत हटाइएको उल्लेख गर्दै रिट खारेजी आग्रह गर्दै अदालतमा लिखित जवाफ पठाएका छन् ।

संस्थापक अध्यक्ष पदमबहादुर सचिव डा. चन्द्रबहादुरले मनपरी गरेको बताउँछन् भने चन्द्रबहादुर संस्थालाई पदमबहादुरले मुखियापाराले चलाउन खोजेको बताउँछन् ।

वर्तमान अध्यक्ष कृष्णकुमारले गेसोले स्मारक पार्क नबनाउने घोषणा गरेपछि पुरानो किसाबकिताबसमेत सार्वजनिक नगरिएको चन्द्रबहादुरको आरोप छ । पदमबहादुरले किर्ते गरेर आफूलाई हटाइएको बताएका छन् । बारम्बार आग्रह गर्दा पनि ट्रस्टको बैठक नबोलाउने र नवीकरणसमेत नगर्दा नेपाल सरकारबाट समेत आएको रकम खर्च गर्न नपाउने स्थिति पदमबहादुरले सिर्जना गरेको चन्द्रबहादुरको भनाइ छ । पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत अटाएर बहुमत कार्यसमतिको निर्णयमार्फत जंगबहादुरलाई अध्यक्ष बनाउने निर्णय गरिएको चन्द्रबहादुरको भनाइ छ ।

ट्रस्ट कार्यसमितिले अभिल्लो वर्ष गेसो अध्यक्ष कृष्णकुमार, निराजन राई, योङहाङ शेर्पा लगायत ५ जनालाई अविश्वासको प्रस्तावमार्फत हटाएर अध्यक्षमा पदमबहादुरलाई निर्वाचित गरेको थियो । निर्वाचित भइसकेपछि बैठक नै नबोलाउने, भएका योजना कार्यान्वयन नै हुन नदिने, नवीकरण नगर्ने जस्ता काम गरेको भन्दै गएको चैत ३ गते पदमबहादुरलाई अविश्वासको प्रस्तावमार्फत हटाइएको थियो ।

बेलायतबाट आएका केही मान्छे बसेर किर्ते गरी ट्रष्टको कार्यसमिति बनाइएको पदमबहादुरको आरोप छ । ‘गोरखामा सेवा गरेका पूर्वका राई, लिम्बु समेतलाई समेटी बनाइएको समावेशी र सहभागितालाई खण्डित गरी एकलौटी गर्न चन्द्रबहादुर, जंगबहादुरको कपट र षडयन्त्रपूर्ण कार्य भएको छ,’ पदमबहादुरले रिटमा भनेका छन्, ‘अध्यक्ष जंगबहादुर र सचिव चन्द्रबहादुरलाई काम गर्न नदिनू, म निवेदकलाई अध्यक्षका रुपमा यथावत काम गर्न दिनु उच्च उदालतबाट आदेश भइ न्याय पाऊँ ।’

साल्मेडाँडामा खानेपानी निर्माणमा सरकारबाट बजेट पर्दासमेत पदमबहादुरले निकासी रोक्ने प्रयास गरी दुख दिएको डा. चन्द्रबहादुरको आरोप छ । ‘पदमबहादुर र कृष्णकुमारले स्मारक निर्माणमा पटकपटक असहयोग गरेका छन् । पहिले आफूहरुले उठाएको पैसाको हिसाबकिताब पनि नदिने र काम अगाडि बढ्ने पनि नदिने जंगे पारा पदमबहादुरले देखाउनुभयो,’ डा. चन्द्रबहादुरले भने, ‘स्मारक निर्माणमा एउटा थिति बसाल्ने प्रयन्त गरिरहेको हुँ ।’

ट्रस्टबाट काम नभएपछि चन्द्रबहादुले बेलायतमा गोर्खा हेरिटेज गठन गरेर स्मारक निर्माणलाई निरन्तरता दिँदा दुख दिइएको बताए । ‘काम नै अलपत्र पर्ने भएपछि हामीले निरन्तरता दिन खोजेका हौं,’ चन्द्रबहादुरले भने, ‘यसअघि के कसरी पैसा उठाइयो । कहाँ कहाँ खर्च भयो भन्ने थाहा छैन । हामी अहिले सबै कारोबार बैंकमार्फत गछौं ।’ सरकारी बजेटमार्फत काम गर्नुपर्ने भएकाले संस्थालाई व्यवस्थित बनाउन लागिएको उनको भनाइ छ ।

हिसाबकिताब छैन, स्मारकको काम ठप्प
स्मारकका लागि ठाउँ ठाउँमा आर्थिक संकलन गरियो । संस्थापक अध्यक्ष पदमबहादुर त्यतिबेला ८÷१० करोड रुपैयाँ संकलन भएको बताउँछन् भने चन्द्रबहादुरहरु १८–२० करोड रुपैयाँ उठेको दाबी गर्छन् ।

पदमबहादुरले सुरुमा ऋणसमेत लिएको बताउँदै त्यो फिर्ता गर्नुपर्ने जनाएका छन् । उनले उठाएको ४÷५ करोडमात्रै सम्बन्धित ठाउँमा खर्च भएको अर्काे पक्षको दाबी छ । यसका लागि सहरी विकास मन्त्रालयमार्फत ५ करोड बिनियोजन भएको थियो । अहिले कामसमेत ठप्प छ । ५ करोडले स्मारकको खण्ड छुट्याएर गजेन्द्रप्रकाश मल्लले ठेक्का लिएका थिए । उनले राजनीतिक लबिङ र अर्कालाई पेटी ठेक्का दिएका कारण समयमा काम नसकिएको ट्रस्ट कार्यसमितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया