नागडाँडामा अन्धाअन्धी र श्रवणकुमारको सालिक

समाधान संवाददाता २०७६ असार ३ गते ११:४५

अन्धाअन्धी र श्रवणकुमारको सालिक स्थापना शिलन्यास गर्दै प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङ ।

अर्जुन काफ्ले
स्याङ्जा

अन्धाअन्धी दह र श्रवणकुमार समाधि स्थल प्रवेशद्वार पुतलीबजार ४ नागडाँडामा अन्धाअन्धी र श्रवण कुमारको सालिक राखिने भएको छ ।

Advertisement

पोखरा सुनौली सडक (सिद्धार्थ राजमार्ग) मै आँधीखोला गाउँपालिकाको पहल तथा लगानीमा सालिक राख्न लागिएको हो । भारतमा बनाइएको कपर फाइबर सालिक ५ फिट उचाइ, ७ फिट दायाँबायाँ लम्बाइ र २ फिट चौडाइको रहनेछ । सालिकमा श्रवणकुमारले बाबुआमा खर्पनमा बोकेर हिँडेको अवस्था देख्न सकिन्छ । अन्धाअन्धी दह आँधीखोला २ र श्रवणकुमार दह आँधीखोला ४ मा छ ।

सिद्धार्थ राजमार्ग हुँदैं लुम्बिनी र मुक्तिनाथ जाने हजारौं भारतीय पर्यटकलाई अन्धाअन्धी दह र श्रवणकुमार समाधिस्थलसम्म आकर्षित गर्ने उद्देश्यले राजमार्गमा सालिक निर्माण गर्न लागिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए । सालिक निर्माणमा १० लाख र सालिक राख्ने स्थान व्यवस्थापन गर्दा ५ लाख ७५ हजार खर्च लाग्ने पौडेलले बताए ।

Advertisement

मुक्तिनाथ दर्शनका लागि बाबुआमालाई खर्पनमा बोकेर हिँडेका बेला तिर्खा लागेपछि श्रवणकुमारले आफ्ना दृष्टिविहीन बाबुआमालाई गुफामा राखी आँधीखोला ४ को घ्याङसिरी मुहानमा पानी लिन जाँदा मामा दशरथको बाण लागेर मृत्यु भएको किंवदन्तीे छ ।

अन्धाअन्धी दहमा श्रवणकुमारले आमाबुबा बोकेको सालिक तथा दह र समाधि स्थलमा श्रवणकुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ रातो र दशरथले बाण हान्न लुकेर बसेको पहरो छ । दुबै स्थानमा बालाचतुर्दशीमा ठूलो मेला लाग्छ । नागडाँडाबाट अन्धानअन्धी दह र समाधि स्थल करिब ३ घन्टा पैदल यात्रापछि पुगिन्छ । तर गाडीमा करिब १० किमी यात्रापछि १ घन्टा पैदल हिँडेपछि पुगिन्छ ।

नागडाडाँमा गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङले गण्डकी प्रदेश पर्यटकीय हब भएका उल्लेख गर्दै स्याङ्जाका १ सय १० पर्यटकीय गन्तव्यमध्ये अन्धाअन्धी दहलाई प्राथमिकतामा राखेको बताए । आँधीखोला र श्रवणकुमार स्याङ्जाको पहिचान भएको बताउँदै धार्मिक पर्यटन विकास गर्न मुक्तिनाथसम्म जोड्ने गुरुङले प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, नेपाली कांग्रेसका थमन बोगटी, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्मा लगायतले समग्र स्याङ्जाको विकासका लागि सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएको थिए ।

तपाईको प्रतिक्रिया