व्यासकाे सुढेगाउँमा पहिलाे पटक बिजुली

समाधान संवाददाता २०७६ असार ३ गते १३:०४

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिका १३ सुढेगाउँमा पहिलो पटक बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत कार्यक्रम अन्तर्गत सुढेका १३ घरमा बिजुली पुगेको हो ।

बिजुली नपुगेका घरधुरीमा ९ वटा मिटरमार्फत् विद्युत सेवा पुर्‍याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले बताए ।१५ केभीएको तारमार्फत् विद्युत विस्तार गरिएको छ । उनले भने, ‘अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत विस्तारका लागि १५ लाख रुपैयाँ लगानी भएको छ ।’ गोशलीले डेढ वर्षभित्र विद्युत नपुगेका सबै ठाउँमा विद्युत पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

Advertisement

व्यास नगरपालिकामा नाल्दीघाटमा मात्रै अब विद्युत विस्तार गर्न बाँकी छ । गोशलीका अनुसार नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत विस्तार हुनेछ । उनले भने, ‘सुढेबाट ६ किमी टाढा रहेको गाउँमा विद्युत विस्तारका लागि पहल भइरहेको छ । आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।’ पहिलो पटक बिजुली बल्दा सुढेका स्थानीयमा खुसीयाली छाएको छ ।

तनहुँका १५ प्रतिशत स्थानीय अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । रिसिङ गाउँपालिका २ दुवुङको १ सय २०, खाल्टुभन्ज्याङका १ सय २०, रिसिङ गाउँपालिका ४ गुम्लेकका ६० घरधुरीमा चालु आर्थिक वर्षभित्रै विद्युत पुर्‍याउने लक्ष्य छ । विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबिएको सबस्टेसन निर्माण भइरहेको छ । यो सबस्टेसनबाट आँबुखैरेनीसम्म १९ किमी लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत सेवा पुर्‍याइनेछ ।

Advertisement

सोही सबस्टेसनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपे लगायत ग्रामीण बस्तीमा बिजुली पुर्‍याइने केन्द्रले जनाएको छ । बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका ५ र ६, बन्दीपुर गाउँपालिका ६ खहरे, व्यास नगरपालिका १४ नाल्दीघाट लगायत बुद्धसिं मार्गका छेउछाउका वस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा ८÷८ एमबिएको सबस्टेसन निर्माणाधीन छ । केन्द्रले २ वर्षभित्र सबै काठे पोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ ।

तपाईको प्रतिक्रिया