समयमा विद्युत महसुल नतिरेका ८ सय ५५ को लाइन काटियो

कृष्ण न्यौपाने
दमौली
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने ८ सय ५५ ग्राहकको लाइन काटेको छ । वितरण केन्द्रले चालु आर्थिक वर्ष २०७५÷६६ को जेठ मसान्तसम्म महसुल बुझाउन अटेर गर्नेको लाइन काटेको हो ।
समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर १ करोड ४१ लाख ३७ हजार ३ सय ५९ बक्यौता असुल गरिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । गोशलीका अनुसार लाइन काटिनेमध्ये ७ सय ३७ जनाले बक्यौता रकम बुझाएकाले उनीहरुको लाइन पुनः जोडिएको छ । उनले भने, ‘मिटर रिडिङ भएको ६० औं दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटिएको छ । लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् ।’
विद्युत महसुल संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको २ प्रतिशत छुट, ८ दिनदेखि २२ औं दिनभित्र महसुल बुझाएमा बिल अनुसार र २३ औं दिनदेखि ३० दिनसम्म विद्युत ५ प्रतिशत थप दस्तुर लाग्छ । मिटर रिडिङ भएको ३१ औं दिनदेखि ४० औं दिनसम्म विद्युत महसुल बुझाएमा १० प्रतिशत र ४१ औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ ।
केन्द्रले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अनाधिकृत रुपमा विद्युत प्रयोग गर्ने १ सय २१ ग्राहकलाई कारवाही गरेको छ । कारवाही स्वरुप ६ लाख १ हजार ९ सय ८५ राजश्व संकलन भएको केन्द्रले जनाएको छ । मिटर बाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने र मिटरको सिल तोड्नेलाई कारवाही गरिएको हो ।
विद्युत चुहावट नियन्त्रण कार्य अन्तर्गत बन्द भएका, बिग्रेका मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिसिलिङ गर्ने, ठूला ग्राहकको टिओडी मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने कार्य गरिएको छ । जेठ मसान्तसम्म ३ सय ४१ बन्द, बिग्रेका मिटर, १ हजार १ सय ४९ ग्राहकको मिटर रिसिलिङ र १ हजार २ सय ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ ।
केन्द्रले विद्युत चुहावट नियन्त्रण भएको जनाएको छ । अघिल्लो वर्ष २०७४ साउन महिनामा २४.८८ प्रतिशत विद्युत चुहावट रहेकोमा २०७५ वैशाखमा ५.९७ प्रतिशत कायम भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को समग्र विद्युत चुहावट १६.६७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्म ७.६८ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख गोशलीका अनुसार विद्युत चुहावट नियन्त्रणमा कडाइ गरिएपछि विद्युत चुहावट घटेको हो । ट्रान्सफर्मर थप्ने, ट्रान्सफर्मरको क्षमता बढाउने, तार अपग्रेड गर्ने, नयाँ लाइन विस्तार गर्ने, पुरानो नांगो तारलाई नयाँ कालो तारले फेर्ने कार्यले विद्युत चुहावट घटाउन सहज भएको गोशलीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया