पर्वतकाे जलजलामा ३ महिना वालुवा, ढुंगा निकाल्न बन्देज

समाधान संवाददाता २०७६ असार ८ गते ११:५९

रामकृष्ण लामिछाने
पर्वत

पर्वतको जलजला गाउँपालिकाले ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाएको छ । वर्खाका ३ महिना कालीगण्डकी नदीबाट ढुंगा, गिटी, बालुवा निकाल्न नपाउने गाउँपालिकाले निर्णय गरेको हो ।

नदीबाट जथाभावी उत्खनन भएको र गाउँपालिकाले अनुगमन नगरेको भन्दै आलोचना भएपछि उत्खननमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नदी किनारमा असार, साउन र भदौमा उत्खननमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

नदीमा उत्खनन गर्न पूर्ण रुपमा रोक लगाउने र गाउँपालिकाले बनाएको कार्यविधि उल्लंघन गर्नेलाई कारवाही गर्ने निर्णय भएको अध्यक्ष मल्लले बताए । गाउँपालिकाले हरेक वर्ष नदीमा निर्माण सामग्री उत्खनन गर्नका लागि ठेक्का लगाउँदै आएको थियो । तर, यस वर्ष भदौ १५ गतेसम्म ठेक्का नलागाउने भएको छ । यो अवधिभित्र कसैले नदीमा डोजर, एक्साभेटर वा अन्य कुनै हेबी इक्युपमेन्ट लगेर उत्खनन गरेमा तत्काल कारवाही गर्ने निर्णय भएको छ । यस्तो गर्ने टेक्टरलाई १५ हजार, टिप्परलाई २५ हजार र डोजरलाई ६० हजार जरिवाना गरिनेछ ।

कालीगण्डकीमा अवैध उत्खनन भएको भन्दै अख्तियारमा पनि उजुरी परेको छ । गाउँपालिकाले अख्तियारमा मुद्दा परेपछि सबै घाटमा टोली खटाएर उत्खननको अवस्थाबारे अनुगमन गरेको थियो । अनुगमनपछि उत्खननमा रोक लगाउन बाध्य भएको गाउँपालिकाका प्रवक्ता देवेन्द्रबहादुर भण्डारीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया