हावाहुरी सुरु, पठनपाठन ठप्प

समाधान संवाददाता २०७६ असार १२ गते १२:५५

राजन उपाध्याय
दुलेगौंडा

शुक्लागण्डकीको शान्तिवर्ष आधारभूत विद्यालमा हावा हुरीको संकेत पाउनासाथ पठनपाठन ठप्प हुन्छ । शिक्षकहरु अभिभावक बोलाएर बालबालिका जिम्मा लगाउन आतुर हुन्छन् । शिक्षकहरु नै गाउँकै घरमा गएर बस्ने गरेका छन् । यो उनीहरुको रहर नभई बाध्यता बनेको छ ।

शुक्लागण्डकी १० को बाङराङस्थित उक्त विद्यालयमा २ वटा कोठामा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । ‘विद्यालय डाडाँमा छ, हावाहुरी अधिक चल्छ,’ शिक्षक शिवराज गौतमले भने, ‘कोठामा पानी जमेर बस्ने ठाउँ पनि हँुदैन, फोन गरेर अभिभावकलाई बोलाउने गरेका छौं ।’ मौसम हेरेर ठूलो वर्षा र हावाहुरी आउलाजस्तो भए उनीहरु विद्यालय छोड्ने तयारी गरिहाल्छन् । हावा र पानी बिदा भएपछि मात्र घर पठाउने गरेको उनको भनाइ छ । ‘हिजो आज दिउँसैदेखि वर्षा र हुरी आउने गरेको छ,’ उनले थपे, ‘राम्रोसँग विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।’ छाना उडाउने खतराका कारण विद्यालयमा हावाहुरी र वर्षाको संकेत पाउनासाथ विद्यालय बन्द गरी शिक्षक विद्यार्थी गाउँ पस्छन् ।

Advertisement

विद्यालयमा कुल ३८ जना विद्यार्थी छन् । विद्यालयका २ कोठामध्ये एउटामा नर्सरीका ११, कक्षा १ का ३ र २ का ५ जना विद्यार्थी राखिएको छ । अर्को कोठामा कक्षा ३ का ८ जना, ४ का ४ जना र ५ का ७ जना विद्यार्थीलाई अध्यापन गराइन्छ । कक्षा ३ देखि ५ सम्म एउटै कक्षामा पढाउने गरिएको प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलले बताइन् । ‘एउटै कक्षामा २÷३ जना शिक्षकले पढाउँदा उनीहरुको ध्यान जान सक्दैन, उनले थपिन्, ‘बुझाउन पनि समस्या छ ।’

वि.स. २०७२ सालको भूकम्पले भवन भत्काएपछि कोठाको समस्या भएको हो । एउटामा निर्माण सामग्री राखिएको छ । २ कोठे पक्की भवन निर्माणाधीन छ । ‘१ कार्यालयसहित ६ वटा कोठा आवश्यक छ,’ उनले भनिन्, ‘सम्बन्धित निकायमा भवनबारे जानकारी गराइरहेका छौं ।’ उक्त भवन निर्माणमा समेत रकम अपुग भएको अधिकारीले बताइन् । ‘जिल्ला शिक्षा समन्वयबाट १६ लाख दिने भनिएकोमा १३ लाख ५० हजारमात्रै पायौँ । नगरपालिकाले ५ लाख दिने भनेकोमा ३ लाख दिएको छ’, उनले भनिन्, ‘२८ लाख लागत स्टिमेट गरिएको भवनमा रकम अभाव भएको छ ।’ निर्माणाधीन भवन असार मसान्तसम्म सक्ने लक्ष्य रहेको उनले बताइन् ।

Advertisement

२०४० सालमा स्थापना भएको सो विद्यालयमा केहि वर्षअघि १ सय ५० विद्यार्थीहरु अध्ययन गर्दथे । ग्रामिण भेगबाट हुने गरेको बसाईसराईका कारण विद्यार्थीको संख्या कम हुदै गएको प्रधानाध्यापक पौडेलले उल्लेख गरिन् । विद्यालयमा हाल ५ शिक्षक रहेका छन् ।

अभिभावक पार्वती वाग्लले विद्यालयको कमजोर भवनका कारण दिनभर विद्यालयका बच्चाको चिन्ता भइरहने बताइन् । ‘विद्यालय पठाएपछि त मन ढुक्क हुनुपर्ने हो,’ उनले थपिन्, ‘तर आकाशमा कालो बादल र हावाहुरी आउने बित्तिकै विद्यालय दौडिएर आउने गरेकी छु ।’ विद्यालयलाई पर्याप्त भवन समयमै नबन्ने हो भने अभिभावकले अन्य विद्यालयमा लैजान बाध्य हुने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया