भारतीय पूर्वमन्त्रीले गरे पोखराको प्रशंसा

समाधान संवाददाता २०७६ असार १९ गते १३:१०

विकास रोकामगर
आगरा

साहसिक खेलमा रुचि भएकालाई पोखरा अत्यन्तै राम्रो गन्तव्य भएको भारतका पूर्वमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता रामसकल गुज्जरले बताएका छन् । उनले पोखरा गएका बेला आफूले पनि धेरै साहसिक खेलमा सहभागी भएर मनोरञ्जन लिएको अनुभव सुनाए ।

बोर्डर टाउन सेल्स मिसन अन्तर्गत ‘चलिए पोखरा’ अभियान लिएर मंगलबार आगरा पुगेको टोलीसँगको छलफलमा भाजपा वरिष्ठ नेता गुज्जरले पोखरा सुन्दर र घुम्नलायक ठाउँ भएको बताएका हुन् । ‘पोखराको आफ्नै विशेषता छ । तपाईंहरु जानुभयो भने हरेक कुरामा इन्जोय गर्न सक्नुहुन्छ,’ उनले भने । गुज्जरले आगरादेखि पोखरा सीधा यातायात सुविधा मिले पर्यटक आउजाउ गर्न सजिलो हुने दाबी गरे ।

Advertisement

‘आगराका पर्यटकमात्रै पोखरा गएर हुँदैन । पोखराका पर्यटक पनि आगरा आउनुपर्छ । एक्सचेन्ज अफर चलाएर दुवैले आआफ्नो क्षेत्रको विकासमा टेवा पुर्‍याउनुपर्छ,’ गुज्जरले भने, ‘त्यसका लागि आगरा टु पोखरा सीधा यातायात सुविधा सुरु भए सजिलो हुने थियो । म यता सरोकारवाला निकायसँग त्यसबारे कुरा राख्नेछु ।’

होटल एन्ड रेस्टुरेन्ट अनर एसोसिएसन आगराका प्रतिनिधि रमेश बादबाले पोखरा र काठमाडौं लगायत सहर निकै सुन्दर भएको बताए । ‘पोखराप्रति भारतीय नागरिक अत्यन्तै जिज्ञासु छन् । त्यसबारे यहाँका नागरिक हरेक कुरा जान्न चाहन्छन्,’ उनले भने, ‘अभियानले पोखराको धेरै पक्षबारे जानकारी दिएको छ ।’

Advertisement

भारतका पर्यटन व्यवसायी अनिल कुमारले नेपाल र भारत भूगोलले फरक भएपनि धेरै कुरामा समानता रहेको बताए । ‘इन्डिया र नेपाल एउटै होइनन् । तर धेरै कुरामा एउटै छन् । त्यसैले पनि एकअर्कालाई नजिकबाट बुझ्न जरुरी छ,’ उनले भने । अनिलले उत्तर प्रदेशका नागरिक चिसो खोज्न नैनीताल, सिम्ला लगायत ठाउँ घुम्न जानेमा अबदेखि पोखरा जान सुझाउने उनले प्रतिज्ञा व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ८ वर्षदेखि चलिए पोखरा अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान मार्फत भारतीय नागरिकलाई पोखरा घुम्न निमन्त्रणा दिने होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

‘उत्तर प्रदेशमा अत्यन्तै चर्को गर्मी छ । यसको राम्रो विकल्प पोखरा हुनसक्छ,’ तुलाचनले भने, ‘भारतीय पर्यटकलाई लक्षित गरेर विभिन्न प्याकेज पनि ल्याएका छौं ।’ हनिमुन प्याकेज, मनसुन प्याकेज, धार्मिक तिर्थयात्रा प्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस (मिटिङ, इन्सेन्टिभ्स र कन्फरेन्स) प्याकेज जस्ता सुविधाहरु भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले अवसरमा जानकारी दिए ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा र वरपरका पर्यटकीय आकर्षण र सुविधाबारे जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड भारतीय पर्यटकलाई नेपालमा स्वागत गर्न सधैं तयार रहेको उनको भनाइ थियो ।

संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिशर्मा गैह्रेले सन् २०१२ बाट सुरु भएको चलिए पोखरा अभियानबारे जानकारी गराएका थिए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरामा भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको भन्दै भारतीय पर्यटकलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको भनाई राखे ।

यही असार २० गते सम्म संचालन हुने अभियान उत्तर प्रदेशको आगरा हुँदै लखनउ र पटना पुगेर पर्यटन व्यवसायीसहित सरोकारवाला निकायसँग छलफल तथा अन्तक्रिया गर्ने छ । सन् २०१८ मा भारतीय पर्यटक २ लाखभन्दा बढी हवाइमार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डसँग तथ्यांक छ ।

तपाईको प्रतिक्रिया