सामुदायिक विद्यालय सुधारमा मादीको प्रयास

समाधान संवाददाता २०७६ असार २३ गते १२:१३

पुरस्कार ग्रहण गर्दै जनमन्दिर आधारभूत विद्यालय थुम्सीकोटकी प्रअ अमृता सुवेदी (दायाँ) । तस्बिरः समाधान

समाधान संवाददाता, पोखरा

मादी गाउँपालिकाभरिका स्कुलहरुमध्ये एसइईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै धन्नुबास कालिका माविलाई गाउँपालिकाले २ लाख रुपैयाँले पुरस्कृत गर्‍यो । गाउँपालिकाको बजेट सार्वजनिक कार्यक्रममा शनिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रअ गोपाल सापकोटालाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

Advertisement

गाउँपालिकाभरिका गणित शिक्षकमध्ये सबैभन्दा धेरै सिकाइ उपलब्धि हाँसिल गरेस्वरुप उनै गोपाल सापकोटा पुरस्कृत भए । आधारभूत विद्यालयमध्ये उत्कृष्ट भएको थुम्कीकोटस्थित जनमन्दिर स्कुलकी प्रअ अमृता सुवेदीले ५० हजार रुपैयाँको पुरस्कार प्राप्त गरिन् । जनमन्दिरका विद्यार्थी साहिल अली गाउँपालिकाभरि कक्षा ८ मा उत्कृष्ट भएर पुरस्कृत भए ।

सिक्लेसको अन्नपूर्ण माविकी शिक्षिका गेसुवा गुरुङले उत्कृष्ट अंग्रेजी शिक्षकको पुरस्कार पाइन् । दूधपोखरी मावि सोंधाकी कमला पौडेलले नेपाली र जनसंख्या विषयमा उत्कृष्ट भएर दुइटा पुरस्कार जितिन् । सामाजिक विषयतर्फ राष्ट्रज्योति मावि सैमराङका गणेश पराजुली पुरस्कृत भए । उत्कृष्ट विज्ञान शिक्षक महारुद्र माविका सञ्जीव पौडेल भए ।

Advertisement

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न मादी गाउँपालिकाले विद्यालय, शिक्षक र विद्यार्थी पुरस्कृत गरेको हो । अध्यक्ष वेदबहादुर गुरुङ श्यामका अनुसार सिकाइ उपलब्धिका आधारमा शिक्षक र प्राप्तांकका आधारमा विद्यार्थी पुरस्कृत गरिएको छ । मादीमै विद्यालय शिक्षा पढेर प्राविधिक उच्चा शिक्षा लिइरहेकाहरुलाई छात्रवृत्तिको व्यवस्था पनि गाउँपालिकाले गरेको छ । मादी जन्मभूमि उच्च शिक्षा पुरस्कार इन्जिनियरिङ पढिरहेका ६ जना सचीन अधिकारी, सुमन पौडेल, अमृत गुरुङ, हिमाल गौतम, सञ्जय सुवेदी र मनीषा सापकोटालाई २ लाख रुपैयाँका दरले प्रदान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकारी युवराज अधिकारीका अनुसार सामुदायिक विद्यालय सुधार्न गाउँपालिकाले शैक्षिक क्यालेन्डर लागु गरिसेको छ । प्रअहरुको चौमासिक समीक्षा बैठक गर्न थालिएको छ । प्रअहरुसँग ९ बुँदे कार्यसम्पादन सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार ५० अंकभन्दा माथि ल्याउने प्रअलाई बढीमा १ महिनाको तलब उपलब्ध गराइने जानकारी अधिकारीले दिए ।

मादीमा ५५ वटा सामुदायिक विद्यालय छन् । विद्यार्थीभन्दा शिक्षक धेरै भएका ३ वटा विद्यालय स्थगित भएका छन् । अरुलाई पनि एकीकृत गरी लैजाने योजना गाउँपालिकाले बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार ६ वटा विद्यालयमा गाउँपालिकाले ७ जना शिक्षक उपलब्ध गराइसकेको छ । कतिपय विद्यालय प्रस्तावित मावि रहेका र तिनमा निमाविको मात्रै दरबन्दी भएकाले शिक्षक उपलब्ध गराइएको उनले जनाए । ‘शिक्षाको जग नै बाल विकास हो भनेर बाल विकास केन्द्रका सहयोगी कार्यकर्तालाई मासिक १ हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराएका छौं,’ उनले भने, ‘यसपालि एसइईको नतिजाका आधारमा विषय शिक्षक पुरस्कृत गरियो, अब तलको कक्षाका शिक्षकहरुको पनि सिकाइ उपलब्धिका आधारमा पुरस्कृत गर्ने योजना छ ।’ मादी गाउँपालिकाको पाँचौं सभाबाट पारित ६१ करोड ३२ लाख रुपैयाँको बजेट अध्यक्ष वेदबहादुर गुरुङले शनिबार सार्वजनिक गरेका थिए । उक्त बजेटमध्ये सबैभन्दा धेरै पूर्वाधारमा विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया