तनहुँकाे आँबुखैरेनीमा गुनासो सुन्न मोबाइल एप

समाधान संवाददाता २०७६ असार २३ गते १२:४५

कृष्ण न्यौपाने
दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सेवाग्राहीको गुनासो सुन्नका लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाई र सेवा प्रवाह बारे जानकारी दिने उद्देश्यले गाउँपालिकाले मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

Advertisement

प्रविधिको विकाससँगै मोबाइल एपको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको थापाले बताए । थापाले भने, ‘अहिले सबैको हात–हातमा मोबाइल फोन छ, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप बनाएका हौं ।’ मोबाइल एपमा गाउँपालिकाको परिचय, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, वडा विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहले मोबाइल एप सञ्चालनमा ल्याइसकेका छन् । व्यास नगरपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाले पनि मोबाइल एप सञ्चालनमा ल्याइसकेको छ ।

Advertisement

नगरपालिकालाई प्रविधिमैत्री बनाउने र सर्वसाधारणको हात–हातमा नगरपालिकाको सेवा बारे जानकारी गराउन व्यास नगरपालिकाले मोबाइल एप सञ्चालनमा ल्याएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताए । पण्डितका अनुसार मोबाइल एपलाई सहजै हेर्न सकिने भएकाले वेवसाइट भन्दा सहज हुन्छ । स्थानीय तहले मोबाइल एपमा स्थानीय तहको संक्षिप्त परिचय, स्थानीय तहबाट लिन सकिने सेवाहरु, बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, सूचना तथा जानकारी, समस्या दर्ता, वडाको विवरण समेटेका छन् ।

तपाईको प्रतिक्रिया