मादीमा सामाजिक विकासलाई ३१ करोड

समाधान संवाददाता २०७६ असार २३ गते १३:२६

समाधान संवाददाता, पोखरा

कास्कीको मादी गाउँपालिकाको पाँचौ गाउँसभाबाट पारित बजेट शनिबार सार्वजनिक भएको छ । अध्यक्ष वेदबहादुर गुरुङले श्यामले शनिबार गाउँपालिका केन्द्र याङ्जाकोटमा ६१ करोड ३२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । त्यसमा सामाजिक विकासतर्फ ३१ करोड रुपैयाँ विनियोजित छ । पूर्वाधार विकासमा २१ करोड रुपैयाँ छुट्याइएको छ ।

उक्त सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले याङ्जाकोटलाई हिलस्टेसन बनाउने योजना सुनाए । भारतमा ब्रिटिसहरुले ग्रिष्मकालीन मौसमका लागि दार्जिलिङ, सिमला, अलमोडामा रोजेजस्तै पोखराका धनाढ्यहरु हिलस्टेसनमा बस्ने समय आउने उनको भनाइ थियो । याङ्जाकोटमात्रै नभई यस्ता अरु ठाउँलाई पनि हिलस्टेसन बनाउन सकिने उनले सुनाए । पोखराबाट गाउँपालिका केन्द्रसम्म याङ्जाकोटसम्म ७ मिटर फराकिलो पिच बाटो निर्माण गर्ने गरी काम अघि बढिसकेको जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए ।

Advertisement

मुख्यमन्त्री गुरुङले घरघरै धारा र बिजुली पुर्‍याउने प्रदेश सरकारको योजना सुनाए । उनले अबको १० वर्षमा गण्डकी प्रदेशको गरिबी शून्यमा झार्ने पनि दोहोर्‍याए । जनताका पीरमर्का बुझ्नकै लागि गाउँगाउँमा सिंहदरबार आएको उनले बताए ।

प्रदेश सभा सदस्य मनबहादुर गुरुङले कांग्रेसले बिनाकारण विरोध गरिरहेको संकेत गरे । कांग्रेसको नामै नलिई उनले जनताले ५ वर्ष उसलाई किनारामा बस्न भनेको उनले सुनाए । ‘जनताले ५ वर्षलाई किनारा लगाइदिएको छ,’ उनले भने, ‘त्यसपछि फेरि जनताले मूल्यांकन गर्छ ।’

Advertisement

प्रदेश सरकारले गाउँपालिका केन्द्र जोड्न पक्की सडक बनाउने २९ करोड रुपैयाँ छुट्याएको जानकारी प्रदेश सांसद गुरुङले दिए । त्यस्तै सिक्लेस जाने सडक पिच गर्न २२ करोड रुपैयाँ विनियोजन भएको पनि उनले सुनाए । ‘साथीहरु (कांग्रेस)ले के त्यसैको विरोध गर्नुभएको हो ?’ उनले भने, ‘मादीका खोलाहरुमा झोलुंगे पुल बनाउने भनेको छ के त्यसैको विरोध हो ? ४ वटा मोटरेबल पुल बनाउने भनेको छ, के त्यसैको विरोध हो ?’

प्रदेश सभा सदस्य गायत्री गुरुङ कुसुमले मादीको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले होसियारीपूर्वक नै प्रदेश सरकार विकास निर्माणमा लागिपरेको भनाइ राखिन् । कास्की जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्रीले सबै मिलेर अघि बढ्दा विकास सम्भव हुने धारणा राखे । नेकपा मादीका नेता पदमप्रसाद पौडेलले हजारजनाको हितमा काम गर्दा ४ जनाले विरोध गर्नुको अर्थ नहुने विचार व्यक्त गरे ।

विरोधमा कांग्रेस
मादी गाउँपालिकाको बजेट सार्वजनिक कार्यक्रममा गएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाए । कार्यक्रमस्थल गाउँपालिका परिसरबाहिर नाराबाजीसहित उनीहरुले कालोझण्डा देखाएका थिए । मादी कांग्रेसका नेता देवीजंग गुरुङ र वडासदस्यसमेत रहेका नेता सरोज केसीसहितको टोलीले नाराबाजी गरेको थियो । बजेट एकलौटी भएको उनीहरुको आरोप थियो । कार्यक्रमै डिस्टर्ब गर्ने गरी चिच्याउँदै गर्दा उनीहरुसँग प्रहरीको धकेलाधकेल भएको थियो । केसीले बजेटमा आफूहरुले हालेको संशोधनमाथि कुनै सम्बोधन नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया