नमुना विद्यालयमा जनहित मावि सूचीकृत

समाधान संवाददाता २०७६ असार २४ गते १२:३३

घरपझोङ ४ जोमसोम स्थित जनहित मा.वि.

तस्बिरः समाधान

समाधान संवाददाता
जोमसोम

Advertisement

जोमसोमस्थित जनहित मावि नमूना विद्यालयमा सूचीकृत भएको छ । सरकारले चालु आवमा देशभरबाट १४ नमुना विद्यालय छनोट गरेको हो ।

नमुना विद्यालयमा सूचीकृत हुन ४ वटा विद्यालयले दाबी गरेका थिए । जनहितसँंगै योगेन्द्र मावि टुकुचे, जनआदर्श मावि कोवाङ र ज्ञानोदय मावि लेतेले निवेदन दिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले बताए । निवेदन दिएका विद्यालयमा पुगेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र र क्षेत्रीय शिक्षा निर्देशानालयको टोलीले स्थलगत अनुगमन गरेको इकाइ प्रमुख बरालको भनाइ छ ।

Advertisement

जनहित माविका अध्यक्ष जयन्द्रलाल थकालीले विद्यालयको शैक्षिक विकासका लागि गरिएको अथक प्रयासको प्रतिफल प्राप्त गरेको बताए । सरकारले १ निर्वाचन क्षेत्र १ नमुना विद्यालयको नीति लिएको छ । नमूना विद्यालयका लागि भौतिक पूर्वाधार, विद्यार्थी संख्या , शैक्षिक उपलब्धि, विद्यालय रहेको स्थान र सामाजिक तथा आर्थिक लेखा परीक्षण लगायत नमुना विद्यालय स्वीकृतिका मापदण्ड तोकिएको थियो ।

नमुना विद्यालयले शिक्षा निर्देशिका २०७४ अन्तर्गत पञ्चवर्षीय योजना बनाउनुपर्ने उल्लेख छ । मान्यता प्राप्त नमूना विद्यालयले कक्षा ११ र १२ सम्म अनिवार्य विज्ञान विषय समावेश गर्नुपर्ने, कमजोर बालबालिकामा शिक्षाको पहुँच पुर्‍याउनुपर्ने, विद्युतीय कक्षा सञ्चालन गर्नुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने लगायत प्रावधान उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया