सब स्टेसन आयोजनासँग लाहाचोकबासी रुष्ट

समाधान संवाददाता २०७६ असार २४ गते १२:५४

समाधान संवाददाता, पाेखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका ४, लाहाचोकस्थित निर्माणाधीन न्यू मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइन सब स्टेसन आयोजनासँग स्थानीय रुष्ट बनेका छन् ।

आयोजनाको हाइटेन्सन टावर निर्माण गर्न आवश्यक पर्ने जग्गा स्थानीयसँग समन्वय नै नगरी एकलौटी निर्णयले मुआब्जाका लागि दाबी गर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरेपछि आक्रोशित छन् ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने जग्गा आयोजनाले यसअघि नै सबै विषय टुंग्याएर काम धमाधम भइरहेको छ । ट्रान्समिसन प्रसारण लाइनका लागि आवश्यक पर्ने हाइटेन्सन टावर निर्माण गर्दा चाहिँने जग्गा स्थानीयको भएको र उक्त जग्गा प्रयोग गर्दा आयोजनाले पूर्व अध्ययन नगरेको स्थानीयको गुनासो छ ।

Advertisement

पर्वतको तल्लो मोदी, कास्कीको सार्दी खोला, सेतीमा निर्माणाधीन २ वटा जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न ट्रान्समिसन लाइन विस्तारको काम नेपाल विद्युत प्राधिकरण अघि बढाएको थियो ।

स्थानीयसँग छलफल नै नगरी मिति नै नभएको सूचना निकाल्नु सूचनाको हक प्रतिकुल भएको भन्दै यतिबेला लाहाचोकबासी आन्दोलित बनेका हुन् । जिल्ला प्रशासन कास्कीले साविकको लुम्ले, धिताल, लाहाचोक, पुरन्चौर गाविसमा पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहणको लागि सूचना निकालेको थियो ।

Advertisement

१३२ केभी प्रसारण लाइन प्रभावित संघर्ष समितिले सोमबार सबस्टेसन अगाडि पत्रकार सम्मेलन गरी समस्या सुनाए । स्थलगत अध्ययन नगरी स्थानीयको समस्या नबुझी एउटा कोठामा बसेर गरिएको निर्णय कुनै हालतमा स्वीकार नगरिने संघर्ष समिति अध्यक्ष शरदचन्द्र ढकालले बताए । ‘विकास विरोधी हामी हुँदै हौइनौं,’ उनले भने, ‘कम्तीमा आयोजनाले काम गर्दा यसबाट प्रभावित हुने स्थानीयसँग समन्वय गरोस् भन्ने हो ।’

जिल्ला प्रशासनबाट प्रकाशित सूचनाको मिति नै नभएको र कुन मितिको ३५ दिनलाई आधार मान्ने स्पष्ट काम आयोजनाले नगरेको उनले बताए ।

‘स्थानीयलाई गुमराहमा राख्ने गरी बिना मितिको सूचना प्रकाशित गरिएको छ,’ समितिका अध्यक्ष ढकालले भने, ‘प्रकाशित सूचनामा समेत प्रभावित क्षेत्रका व्यक्तिहरुलाई फुटाउने र कमजोर बनाउने मनसायले कसैकोमा जग्गाधनीको नाम नमिल्ने, कुनैमा कित्ता नं. नमिल्ने र क्षेत्रफल हेरफेर गरी विवादित बनाउन खोजिएको छ ।’

हाइटेन्सन टावर बनाउन र ट्रान्समिसन लाइन तान्न पर्याप्त वनको जग्गा हुँदाहुँदै तीव्र बस्ती विकास भइरहेको ठाउँबीचबाट आयोजना विस्तार गर्न लागिएको स्थानीय राजेन्द्र अधिकारीले बताए ।

‘लाहाचोकमा ६० जना भन्दा बढीको जग्गा आयोजनामा पर्ने देखिन्छ,’ उनले भने, ‘एक पटक पनि छलफल भएको छैन । आयोजना प्रमुखलाई पटकपटक हाम्रो गुनासो सुन्न आग्रह गर्दा वास्ता छैन । एउटा कोठामा बसेर इन्जिनियरले गरेको सर्वे हामीले मान्ने कुरै हुँदैन ।’

धान फाँट मासेर, बस्ती उजाडेर आयोजनाले सुकुम्बासी बनाउन लागेको भन्दै उनले आक्रोश पोखे । ‘सामान्य रुपमा हेर्दा पनि त्यति धेरै ठाउँ मर्दी खोलाको पहरा देखिन्छ । सहज बाटो हुँदा हुँदै बस्तीबाट नै हाइटेन्सन टावर राखेर लाइन तान्नु भनेको सुकुम्बासी बनाउनु नै हो ।’

सूचना प्रकाशित भएको जानकारी पाएपछि संघर्ष समितिमार्फत जिल्ला प्रशासन, वडा, गाउँपालिका र जिल्ला समन्वय समितिमा गुनासो दर्ता गराएको उनीहरुले बताएका छन् ।

वार्ताबाट विवादित विषय टुंग्याउन चाहेको भए पनि सम्बन्धित निकायले स्थानीयको आवाज नसुनेको उनीहरुको भनाइ छ । सरोकारवालासँग बसेर हाइटेन्सन टावर राख्ने भनिएको स्थान परिवर्तन गर्नुपर्ने उनीहरुको माग छ ।

ट्रान्समिसन लाइन विस्तारका लागि जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गर्दा स्थानीय तहसँग पनि समन्वय नगरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । जनप्रतिनिधि चुनिएर आउनुभन्दा अघिकै आयोजना भएकाले यसबारे त्यति ज्ञान समेत नभएको उनले सुनाए ।

‘आयोजनाबाटै आफैं कहाँ कति र कसको जग्गा लिने भन्नेबारे पहिले नै तयार भइसकेको थियो,’ उनले भने, ‘यसबारे गाउँपालिका र वडासँग कुनै सल्लाह, छलफल भएको छैन ।’ स्थानीयसँग समन्वय गरेर मात्रै आयोजना अघि बढाइने उनले बताए ।

खोलैखोला टावर सम्भव छैनः आयोजना प्रमुख
न्यू मोदी–लेखनाथ प्रसारण लाइनका आयोजना प्रमुख रोशन अग्रवालले पूर्वअध्ययन गरेर नै टान्समिसन लाइनको काम विस्तार गर्न लागिएको जानकारी दिए ।

असन्तुष्ट बनेका स्थानीयले खोलैखोला लाइन तान्न सकिने भन्नु तर्कसंगत नभएको उनले बताए । टावरका लागि धेरै ठाउँ चाहिने भएकाले सेती वा मर्दी खोलाको किनारमा सम्भव नहुने आयोजना प्रमुख अग्रवालले स्पष्ट पारे । ‘आयोजनाले सन् २०१२ मै सम्झौता गरेको हो । खोलैखोला लैजा भन्छन् । त्यो सम्भव हुँदैन,’ उनले भने, ‘एउटा टावर गाड्न कम्तीमा ८ देखि १२ आना जग्गा चाहिन्छ । यो टेक्निकल कुरा हो । जुन खोलामा सम्भव छैन ।’

मुआब्जासम्बन्धी सूचना जेठ ३० गते प्रकाशित गरेको र त्यसमा त्रुटि भएको उनले स्वीकार गरेका छन् । ‘गोरखापत्रमा सच्चिएर आएको छ । तर गाउँपालिकामा सूचना पठाउँदा गल्ती भएकै हो । सच्याउन सकिन्छ । साथीहरुले ठूलो इस्यू बनाउनुभयो,’ उनले भने ।

उनले आयोजनाको जग्गा प्राप्ति गैर कानुनी नभएको र कसैलाई मर्का परेको भए कानुनी बाटो अपनाएर समस्याको समाधान गर्न आग्रह गरे । आक्रोशित भीडसँग सार्थक वार्ता बस्ने अवस्था नदेखिएकाले आयोजना पक्षले ध्यान दिएन भन्नु आरोप मात्रै भएको उनले बताए ।

जग्गा प्राप्ति ऐन अन्तर्गत नै अधिग्रहण गर्न लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल सरकारले व्यवस्था गरेको कानुन अनुसार नै उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गर्न लागेका हौं । आफ्नो घरजग्गा परेपछि विरोध गर्नु स्वभाविक हो ।’

सब स्टेसन क्षेत्रको भौतिक पूर्वाधार तर्फको काम भने ९० प्रतिशत सम्पन्न भएको हनुमान कस्ट्रक्सनका भरत सापकोटाले जानकारी दिए । आयोजनाको ग्लोबल टेन्डर मार्फत भारतको एबिबि कस्ट्रक्सनले सब स्टेसन निर्माणको मुख्य जिम्मा पाएको थियो । ट्रान्समिसन लाइनका लागि भने भारतकै कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले जिम्मा पाएको थियो । कुनै अवरोध नभए आगामी १ वर्ष भित्रमा नै सम्पूर्ण काम सकिने आयोजना प्रमुख अग्रवालले दाबी गरे ।

प्रसारण लाइनमा कुल १ सय ३८ वटा टावर निर्माण हुनेछन् । कास्कीमा १ सय १८ व्यक्तिको जग्गामा पर्छ भने, ७ वटा वनको जग्गामा पर्छ । पर्वतमा १३ वटा टावर निर्माण हुनेछन् । आयोजना प्रमुख रोसन अग्रवालका अनुसार पर्वतमा मुआब्जा तय भइसकेको र काम अघि बढेको जानकारी दिए ।

कास्कीको माछापुच्छ्र‍ गाउँपालिका ४ लाहाचोकमा निर्माणाधीन न्यू मोदी–लेखनाथ १३२ केभीए विद्युत प्रसारण लाइनको सबस्टेसन ।

तपाईको प्रतिक्रिया