बाढीपहिरोले देशभर ६ को मृत्यु, ६ बेपत्ता

समाधान संवाददाता २०७६ असार २७ गते १५:५८

समाधान संवाददाता, काठमाडाैं

बिहीबारदेखिको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् ।

गृहमन्त्रालयका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा १-१ जनाको मृत्यु भएको छ । यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण मोरङ, सुनसरी र पाँचथरमा १-१ जना बेपत्ता भएका छन्।

Advertisement

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो भने ३ जना घाइते भएका छन् । बिहान ११ बजे पहिरोले घर भत्किएपछि ५० वर्षीय गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको हाे । त्यस्तै घर माथिबाट आएको पहिरोका कारण ३ जना घाइते समेत भएको उनले बताए।

रामेछाप ५ मा गएको पहिरोका कारण ७० वर्षकी पदमकुमारी सुनुवारको मृत्यु भएको छ । उनलाई शक्रबार बिहान गोठमा भैँसी दोहिरहेको अवस्थामा पहिरोले पुरेपछि घटनास्थलमै मृत्यु भएको थियाे ।

Advertisement

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित खहरे नुवाखोलाले एक बालकलाई बगाएको छ । शुक्रबार बिहान ९ बजेतिर विद्यालय जाने क्रममा ९ वर्षे दिवन राईलाई खोलाले बगाएको हो । उनको इलाका प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको छ ।

बिहीबार मोरङको विराटनगरमा एक युवकलाई पनि खोलाले बगाएको छ । साँझ ५ बजेतिर उनलाई सानेपाखरी रङ्गेनी जानेबाटोमा पर्ने खोलाले बगाएको थियाे । उनकाे पनि खाेजी कार्य जारी रहेकाे छ ।

ललितपुर र सिन्धुलीमा पहिरोका कारण एक–एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण सुनसरीमा एक जना बेपत्ता भएको र पर्सामा एक जना डुबेर मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया