कालीगण्डकीको जोखिममा तल्लो स्याङ

सुन्दरकुमार थकाली २०८१ वैशाख १४ गते ११:१०

जोमसोम ।
कालीगण्डकी नदी उकासका कारण मुस्ताङको घरपझोङ गाउँपालिका—३ तल्लो स्याङ पुल्चोक बस्ती बर्सेनि नदी कटानको उच्च जोखिममा पर्दै आइरहेको छ । कालीगण्डकी नदी उकास बर्सेनि वृद्धि भइरहँदा कालिगण्डकी नदी बस्ती भन्दा माथि आउन थालेपछि स्थानीयवासी बस्ती नै विस्थापित हुने हो कि भन्नेमा चिन्तित देखिएका छन् ।


केही वर्षअघि जापानी सहयोग निकाय (जाइका)ले मुस्ताङमा गरेको एक सर्वेक्षणमा मुस्ताङको छुसाङदेखि थासाङको पैरोथाप्लासम्मका १३ वस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको बताइएको थियो । तर, पछिल्लो समय मुस्ताङमा जोखिममा रहेका अन्य बस्तीभन्दा स्याङ पुल्चोक वस्ती कालिगण्डकी नदी कटानका कारण थप प्रताडित बन्दै गइरहेको छ ।


हिमाली जिल्ला मुस्ताङमा नदीजन्य पदार्थ उत्खनन हुन नसक्दा स्याङकको पुल्चोक बस्ती अन्य वस्ती भन्दा थप जोखिममा परेको हो । कालिगण्डकी नदीमा बर्सेनि नदीजन्य पदार्थ ढुंगा, बालुवा गिट्टी र गेग्रानहरु समुचित प्रयोग हुन नसक्दा मुस्ताङमा कालीगण्डकी नदीको उकास वृद्धि भइरहेको छ । प्राकृतिक स्रोतसाधन अन्तर्गत पर्ने नदी जन्य पदार्थको उत्खनन तथा व्यवस्थापन कार्यमा कानुनी जटिलता हुँदा मुस्ताङमा कालीगण्डकी नदीको तटीय क्षेत्रका बस्ती जोखिममा परेका हुन् ।

Advertisement


नदी जन्य पदार्थ उत्खनन,व्यवस्थापन संघीय कानुन र संरक्षण व्यवस्थापनका ऐन,नियमावली र कार्यविधि बाधक हुँदा मुस्ताङमा वर्षौंखि कालीगण्डकी नदीको नदी जन्य पदार्थ उत्खनन तथा व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको हो । त्यसो त मुस्ताङ जिल्ला अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने भएकाले पनि यहाँका नदी जन्य प्राकृतिक श्रोत साधनको सदुपयोग नहुँदा तटीय क्षेत्रका बस्तीहरु जोखिममा छन् ।

  • करोडौं मूल्यको नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापनमा कानुनी जटिलता
  • नदीको सतह बर्सेनि माथिमाथि आइरहेको छ


कालीगण्डकी नदी उकास बर्सेनि वृद्धि हुने क्रम रोकिएको छैन । यसैका कारण यहाँ तटीय क्षेत्रमा बस्तीहरूमा नदीको सतह माथि र बस्तीको उचाइ तल हुँदै गर्दा मुस्ताङको घरपझोङ—३ को स्याङ पुल्चोक बस्ती बर्सेनि नदी कटानको चपेटामा परेको हो । संघीय, प्रादेशिक, स्थानीय निकायका विभिन्न निकायबाट विनियोजन भएको टुक्रे बजेटले तटबन्ध निर्माण गरिएको भए पनि नदी उकास बढेर बस्ती विस्थापित हुने अवस्था आइपरेको हो ।

Advertisement


घरपझोङ—३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले संघीय,प्रदेश र स्थानीय तहको सीमित बजेटले स्याङ पुल्चोक बस्ती जोगाउन मुश्किल परेको बताए । वडाध्यक्ष थकालीले बर्सेनि कालीगण्डकी नदीको सतह एक मिटरभन्दा माथि आउने भएकाले पुल्चोक बस्ती जोखिममा परेको बताए ।

उनका अनुसार कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्था पनि सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र संघीय कानुन संरक्षण नियमावलीमा नदीजन्य पदार्थको उत्खनन तथा व्यवस्थापन र बिक्री वितरणमा कानुनी मार्ग सुनिश्चित नहुँदा कालिगण्डकी नदी उकास बढेको दाबी गरे ।


उनले कालिगण्डकी नदीको कटानबाट पुल्चोक बस्ती जोगाउन स्थानीयले बस्ती बचाउ अभियान चलाएको बताए । वडाध्यक्ष थकालीले सरकारको भर नपरी स्थानीयबासीले आर्थिक सहयोग जुटाएर नदी नियन्त्रण गर्न प्रयास भइरहेको र यसलाई सबैले सहयोग गर्नुपर्ने जनाए ।


मुस्ताङको घरपझोङ—३ स्याङको पुल्चोक बस्तीमा १७ घरधुरीको बसोबास छ । त्यहाँ बसोबास गर्ने सबै कृषि व्यवसायमा आत्मनिर्भर छन् । तर, पछिल्लो केही वर्षयता स्याङ पुल्चोक बस्तीका स्थानीयवासीहरु बस्तीका साथै आफूहरूले उत्पादन गर्ने खेतीयोग्य जमिननै कालिगण्डकी कटानले विनाश गरिदिन्छ की भन्ने त्रासमा छन् ।


त्यहाँ बर्सेनि खोला छेक्न लगाइएको बाँध समेत कालिगण्डकी नदीले क्षति बनाइदिने गरेको छ । गत वर्ष कालिगण्डकी र ठिनी खोलाको दोभानदेखि पुल्चोक बस्तीमा लगाएको ग्याबिन तटबन्ध नदी कटानले क्षति तुल्यायो । बर्सेनि नदी कटानको जोखिममा रहँदै आइरहेका त्यहाँका स्थानीय नत बस्ती विस्थापित हुन सक्छन् । नत त्यहाँ निर्धक्क रूपमा बस्न पाउँछन् ।


स्याङ पुल्चोकबस्तीका स्थानीय एवं बस्ती जोगाउ अभियानका सदस्य चन्द्र थकालीले कालीगण्डकी नदीको कटानले बर्सेनि पुल्चोक बस्ती जोखिममा पर्ने गरेको सुनाए । उनले गत वर्ष नदी कटानले २५ रोपनी जग्गामा लगाइएको स्याउ बारी नदी कटानले पुरै क्षति बनाएको बताए ।


कालीगण्डकी नदीमा करोडौं मूल्यको नदीजन्य पदार्थ त्यसै खेर जाने गरेको तर यसको उत्खनन तथा व्यवस्थापनमा संघीय कानुनको जटिलताले गर्दा नदीको सतह बर्सेनि माथिमाथि आइरहेको स्थानीय थकालीको भनाइ छ । हामी अहिले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुसँग बस्ती बचाउ अभियानका लागि सहयोगको याचना गरिहेको र सहयोग पनि जुट्दै गरेको उनले बताए । सरकारको भर नपरी गाउँहरु नै मिलेर नदी छेक्न बस्ती संरक्षण गर्न अभियान सञ्चालन गरेको थकालीले उल्लेख गरे ।


स्याङ गाउँ पुल्चोक बस्तीका १७ घरधुरीले आर्थिक सहयोग जुटाएर कालीगण्डकी नदी छेक्न ६ सय मिटर लामो बिग बोल्डिङ स्टेकिङ (ठूलाठूला ढुंगा बिच्छ्याए बाँध निर्माण गर्ने अभियानमा लागेका हुन् । यसका लागि २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । घरपझाङको ३ नंं वडाले ४ लाख बजेट उपलब्ध गराएको छ । पूर्वसांसद प्रेमप्रसाद तुलाचनले निःशुल्क उपकरण उपलब्ध गराएका छन् ।


यसअघिका वर्षहरुमा भू—तथा जलाधार व्यवस्थापन कार्यालय र सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङले स्याङ पुल्चोक बस्ती संरक्षण गर्न तटबन्ध निर्माण गरिएको भए पनि निर्माण गरिएका तटबन्धलाई कालीगण्डकी उकासका कारण क्षति तुल्याएको थियो । मुस्ताङको स्याङ पुल्चोक बस्ती मात्र होइन पछिल्लो सयम कालीगण्डकी नदी कटानले यहाँका दर्जनौं बस्ती जोखिममा छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया