सिरानचोकमा पूर्वाधारलाई प्राथमिकता

समाधान संवाददाता २०७६ असार ३१ गते १३:४५

मोहसिन अली मियाँ
गोरखा

सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोडको बजेट सार्वजानिक गरेको छ । ऐतिहासिक पूर्वाधार संरक्षण एवं निर्माणलाई मुख्य प्राथमिकता दिँदै सिरानचोकले आइतबार नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजानिक गरेको हो । ‘गाउँपालिकाको आवश्यकतालाई हेरेर बजेट बनाएका छौं,’ अध्यक्ष राज गुरुङले भने, ‘केही नयाँ कार्यक्रम छन् भने केही प्रभावकारीताका आधारमा पुरानैलाई पनि निरन्तरता दिएका छौं ।’

गाउँसभामा उपाध्यक्ष रीता देवकोटाले नीति तथा कार्यक्रम र बजेट पेश गरेकी हुन् । बजेटमा ऐतिहासिक पूर्वाधारको संरक्षणलाई प्राथमकिता दिइएको छ । सिरानचोक कोट संरक्षण, कोट परिसरमा नेपालका राष्ट्रिय विभूति अमरसिहं थापा र वीरसेना झाजल गुरुङको स्मारक पार्क बनाउने, वडा नम्बर ५ ग्रागे भन्ज्याङमा नेपाल एकीकरण पार्क निर्माण गर्न बजेट बिनयोजन गरिएको छ ।

Advertisement

सिरानचोक चक्रपथलाई पूर्णता र गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिइएको छ । ‘जिल्लाको पहिचान भनेको इतिहास हो, सबैभन्दा पहिला ऐतिहासिक स्थानहरुको संरक्षण गर्न आवश्यक छ’, अध्यक्ष गुरुङले भने, ‘पार्क बनाउने, कोट संरक्षण एवं निर्माण गर्ने, अनुसन्धान गर्ने, त्यसको प्रोफाइलिङ लगायतका कामलाई प्राथमिकतामा राखेका छौं ।’

‘हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो पर्यटन’ भन्ने नाराका साथ विकास र पर्यटनलाई सँगसँगै अघि बढाउने गाउँपालिकाले नीति लिइएको छ । त्यस्तै नागरिक समाजसँगको सहकार्यलाई समेत गाउँपालिकाले प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ । जसका लागि कार्यविधि र मापदण्ड बनाई बनाइने भएको छ । गाउँपालिकाले ६४ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

Advertisement

जसमा वित्तीय समानीकरणतर्फ संघीय सरकारमार्फत १३ करोड ४७ लाख र प्रदेश सरकारमार्फत १ करोड २१ लाख ८९ हजार, विद्युत रोयल्टीतर्फ १ लाख ९६ हजार ८ सय २८, जिल्ला समन्वय समितिको अनुदान १ करोड १० लाख, अघिल्लो आर्थिक वर्षको अनुमानित ७ करोड ५२ लाख २९ हजार, सामाजिक सुरक्षा भत्तातर्फ ११ करोड, संघीय सरकार र प्रदेश सरकारको राजश्व ७ करोड ७२ लाख २१ हजार तथा संघीय सरकारको शसर्त अनुदान २० करोड ९७ लाख छ ।

बजेटमा विभिन्न प्राथमिकतासमेत निर्धारण गरिएको छ । समुन्नत समाज निर्माण र समृद्धिका लागि सिरानचोकको विकास, भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा जोड, कृषिको विविधिकरण र व्यवसायिकरण, सडक स्तोरन्नति तथा आवश्यक सडकको नयाँ ट्रयाक र पर्यटन पूर्वाधार विकासलाई जोड दिइएको छ ।

बेरोजगारी अन्त्य गर्नका लागि कृषि र पशुपालनमा अनुदान दिने, महिला तथा बालबालिकाको स्वास्थ्य प्रर्वद्धनका लागि आमा समूह बैठकलाई जोड दिने, सार्वजनिक पूर्वाधार निर्माणमा श्रमदान गर्ने बानीको विकास गर्ने गाउँपालिकाको योजना छ । ‘मेरो श्रम हाम्रो विकास’ कार्यक्रमलाई गाउँपालिकाले महत्व दिएको छ । सिरानचोकले आगामी आर्थिक वर्षमा १ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया