घुससहित सडकका कर्मचारी पक्राउ

समाधान संवाददाता २०७६ साउन ३ गते १२:०९

समाधान संवाददाता
दमौली

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको छ । पौडेलसँगै वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई समेत पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । रिजालका अनुसार सेवाग्राहीबाट १ लाख ७५ हजार घुस लिने क्रममा उनीहरुलाई कार्यालयबाटै पक्राउ गरिएको हो ।

कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएको अख्तियारले जनाएको छ । लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रवक्ता रिजालले भने, ‘घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले निजहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।’

Advertisement

बागलुङ घर भएका पौडेल विगत ५ वर्षदेखि कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया