असारभित्र पाेखराकाे फुटबल मैदान तयार हुने खेलकुदमन्त्रीकाे घाेषणा फेल

समाधान संवाददाता २०७६ साउन ३ गते १४:३२

अमृत सुवेदी
पोखरा

पोहोर फागुन २६ गते पोखरा रंगशालामा फुटबल मैदानको शिलान्यास गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विकले भनेका थिए, ‘असारभित्रै काम सकिने गरी अगाडि बढाइएको छ ।’ ठेकेदार कम्पनीसँग निर्माण सम्झौताको २ महिनापछि फुटबल मैदानको शिलान्यास गर्दै खेलकुदमन्त्री विकले गरेको घोषणा फेल भएको छ ।

साउन लागिसक्दा काम सकिनुपर्ने थियो । तर, अहिलेसम्म फुटबल मैदानको डिजाइनसमेत पास भएको छैन । नेपाल खेलकुद परिषदले डिजाइन पास नगर्दा मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग) सम्म मैदान तयार हुनेमै शंका उब्जिएको छ ।

Advertisement

असार मसान्तसम्म सक्ने भनिएको खेलमैदान अब साग सुरु हुनुभन्दा अघिल्लो महिनामात्रै सकिसक्ने भनिएको छ । अहिले मैदानमा नाली बनाउने काम भइरहेको छ भने एथलेटिक्स ट्र्याकको बेस बसाल्ने काम भइरहेको हो ।

अहिलेसम्म फुटबल मैदान कृतिम बनाउने कि प्राकृतिक भन्नेमै अन्योल थियो । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा सदस्य र ठेकेदार कम्पनीबीच बुधबार बसेको बैठकले पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णय ग¥यो ।

Advertisement

४ महिनामा सक्ने गरी १ अर्ब २८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो । ग्लोबल टेन्डरमार्फत रंगशाला निर्माणका लागि राखेपले भारतीय कम्पनी ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मेवारी दिएको छ ।

ठेकेदार कम्पनीले २२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । डिजाइन पास नहुँदै र प्राकृतिक बनाउने कि कृत्रिम भन्ने निर्णय नहुँदै निर्माण कम्पनीले भने फुटबल मैदानमा गिटी बिच्छाइसकेको छ । कृत्रिम वा प्राकृतिक जे बनाए पनि हुने भन्ने खालको कुरा भएकाले कृत्रिम बनाउन गिटी बिच्छ्याइएको प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेको भनाइ छ ।

ठेकेदार कम्पनीसहित बुधबार राखेप पदाधिकारी तथा सदस्यको बैठकले फुटबल मैदान प्राकृतिक बनाउने भनेपछि बिच्छाइएको गिटी उठाउनुपर्ने भएको छ ।

ठेकेदार कम्पनीले नै रिस्क लिएर गिटी हालको र मैदान कस्तो बन्ने भन्नेबारे परिषदले डिजाइन पास गरेपछिमात्रै भन्न सकिने सरकारको यो प्रोजेक्ट हेरिरहेका पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रमिस ताम्राकारले बताए ।

‘निर्माण सम्झौताअनुसार अहिलेसम्म काम सकिनुपथ्र्यो तर डिजाइन पास नभएकै कारण ढिलाइ भएको हो,’ ताम्राकारले भने, ‘छिट्टै डिजाइन पास हुने कुरा छ ।’ मंगिर १५ गतेबाट हुने साग खेलअन्तर्गत महिला फुटबल यही मैदानमा गर्ने भनिएको छ । छिट्टै डिजाइन पास भएर धमाधम भए सागका खेल खेलाउन सकिने ताम्राकारको भनाइ छ ।

नयाँ बन्ने पोखरा रंगशालामा १५ हजार ५ सय दर्शक क्षमताको हुनेछ । अन्तर्राट्रिय मापदण्डअनुसार बन्ने भनिएको रंगशालाको चारैतिर छानासहित प्यारापिट रहनेछ । यस्तै मैदानको छेउमा सिन्थेटिक ट्र्याक रहने छ ।

विसं २०३९ बनेको रंगशालाको विशिष्ट कक्षमा ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । नयाँ बन्ने फुटबल मैदानमा विशिष्ट कक्षसहित चेन्जिङ रुम र कन्फ्रेन्स हलसमेत हुने छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङका अनुसार शुक्रबार बस्ने बैठकले फुटबल मैदानको डिजाइन पास गर्ने छ । बुधबार बसेको बैठकमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कात्तिक १५ भित्र जसरी फुटबल मैदानको काम सक्न निर्देशन दिएका थिए ।

साग खेल हुनै लाग्दा यो खेल मैदान राखेपको प्रतिष्ठासँग पनि जोडिएको उनको सिलवालको भनाइ थियो । पोखरामा बाहिरबाट सामान ल्याएर जडान गरेर बनाउन लागिएको कृत्रिम मैदान होइन, दुबो उमारेर प्राकृतिक मैदान बनाउनुपर्ने सिलवालले जोड दिए ।

राखेपले प्राकृतिक बनाउने निर्णय गरेसँगै अहिले मैदानमा बिच्छाइएको गिटी उठाएर माटोकै मैदान बनाएर कात्तिक १५ गतेभित्र दुबो उमारेर खेलका लागि तयार गर्नुपर्ने भएको छ ।

प्यारापिटसहित एथलेटिक्स ट्र्याक जर्मनी र भारतबाट सामान ल्याउन लागिएको ठेकेदार कम्पनीका प्राजेक्ट म्यानेजर न्यौपानेले बताए । डिजाइन फाइनल भए समयमै काम सक्ने न्यौपानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया