बन्दीपुर केबलकार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयाेग गरे बापत जग्गाधनी सेयर

कृष्ण न्यौपाने
दमौली
बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई सेयर दिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका ४ ठूल्ढुंगादेखि वनको फेदीसम्मको जग्गा प्रयोग गरेबापत कम्पनीले स्थानीयलाई सेयर दिएको हो ।
केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने ५ रोपनी जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको सेयर प्रदान गरिएको केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
११ जना स्थानीयलाई सेयरबापतको प्रबद्र्धक सेयर लगानी प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
बढी सेयर पाउनेले २ लाख ५६ हजारसम्म पाएका छन् । पोल परेको जग्गालाई प्रतिआना १ लाख र तारमात्रै परेको जग्गालाई प्रतिआना ५० हजारका दरले मूल्यांकन गरी सेयरमा रुपान्तरण गरिएको शर्माले बताए । १ जनालाई १ लाख ४५ हजार नगद नै हस्तान्तरण गरिएको छ ।
केबलकार कम्पनीमा २ सय २५ जना स्थानीयले सेयर हालिसकेका छन् । स्थानीयबाट केबलकार निर्माणका लागि करिब ३ करोड संकलन भएको छ । केबलकारमा बन्दीपुर गाउँपालिकाले ५० लाख सेयर हालेको छ । ‘स्थानीयका लागि १३ करोड सेयर छुट्याएका थियौं, अहिलेसम्म रु ३ करोड सेयर संकलन भएको छ,’ शर्माले भने ।
अहिले केबलकारको पूर्वाधार निर्माण भइरहेको छ । केही दिनअघि मात्रै निर्माण सुरु भएको केबलकारको बटम स्टेसन भवन बन्दै छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको लागत १ अर्ब ३८ करोड छ ।
केबलकारको टप स्टेसनमा १० तलाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोडमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यु टावर, बेनक्युट हल र ८० कोठाको हुनेछ । । शर्माका अनुसार रेस्ट्रो जोन, सपिङ मल र केबलकारको ड्राइभ स्टेसन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । ५ सय क्षमताको सभाहल पनि भवनमा बनाइनेछ ।
प्रारम्भमा ५६ करोडमा केबलकार बनाउने योजना रहेकोमा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेपछि लागत वृद्धि भएको छ । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पुँजी निर्माण गरिनेछ,’ उनले भने ।
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि केबलकारमा ९ मिनेटमा बन्दीपुर पुग्न सकिनेछ । केबलकारमा २ वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया