सहकारी अध्यक्षको बदमासीः सदस्यको नाममा ऋण लिएर दुरुपयोग !

समाधान संवाददाता २०७६ साउन १३ गते ११:३०

मोहसिन अलि मियाँ
गोरखा

कृषि उत्पादनका नाममा बैंकबाट लिएको ऋण सहकारीका अध्यक्षले दुरुपयोग गरेको भन्दै सदस्यहरु प्रशासनको शरणमा पुगेका छन् । पालुङ्टार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैदबहादुर वाइवाले सदस्यको नाममा बैंकबाट झिकेको लाखौं रुपैयाँ अनियमितता गरेको सदस्यको आरोप छ ।

२०७२ सालमा सहकारीका नाममा विभिन्न कृषिजन्य उत्पादन गर्न उनीहरुले साँग्रिला विकास बैंकबाट १ करोड रकम ऋण लिएका थिए । तर अध्यक्ष वाइवाले सदस्यहरुलाई केही रकम बाँडेर झण्डै आधा करोड आफैं कुम्ल्याएको आरोप पीडितको छ । ‘हामी सहकारीमा रहेकामध्ये २४ जनाको २ सय ५० रोपनी जग्गा धितो राखेर ऋण झिकेका हौं,’ सदस्य विजेश्वर तामाङले भने, ‘हामीलाई अलिअलि रकम बाँडेर अरु रकम अध्यक्षले कता लगे कता ।’

Advertisement

बैंक धितो राखेको २ सय ५० रोपनीमा अध्यक्ष वाइवाको भने जग्गा छैन । सदस्यहरुले आफ्नो घरबार राखेर झिकेको ऋणमा अध्यक्षले आफूखुसी गर्दा अहिले उनीहरुलाई रुनु न हाँस्नु झैं भएको छ । जग्गा धितो राख्ने २४ मध्ये पनि २ जनाले सहकारीबाट ऋण लिएका छैनन् । सरकारीमा बैंकबाट आएको १ करोडमध्ये २० हजारदेखि ७ लाखसम्म उनीहरुले व्यक्तिगत रुपमा ऋण लिएर मासिक रुपमा सहकारीलाई नै किस्ता बुझाउँदै आए । तर उनीहरुले सहकारीमा बुझाएको किस्ताको रकम समेत अध्यक्षले बैंकमा नबुझाइँदिदा अहिले उनीहरुको जग्गा लिलामी हुने अवस्थासम्म पुगेको छ । ‘हामीले पाएको पैसाको महिनै पिच्छे अध्यक्षलाई किस्ता बुझाएका हौं,’ सहकारीकी कोषाध्यक्ष समेत रहेकी राममाया गुरुङले भनिन्, ‘पछि पो थाहा भयो, अध्यक्षले त त्यही पैसा पनि बुझाएका रहेनछन्, बैंकमा किस्तै तिरेका रहेनछन् ।’

सुरुमा केही महिना बैंकमा किस्ता तिरेका अध्यक्ष वाइवा लगातार ११ महिनासम्म बैंकमा फर्केनन् । बैंकमा नफर्केपछि ऋणी खोज्दै जब बैंक घरघर पुग्यो तब अध्यक्षको बदमासी पर्दाफास भयो । ‘हामीले सहकारीलाई किस्ता बुझाइरहेकै थियौं, तर किस्ता बुझाएन भनेर बैंकका मान्छे घरमा आउँदा त हामी छाँगाबाट खसे झै भयौं,’ अर्की सदस्य धनकुमारी लामाले भनिन् । सहकारी दर्ता भएदेखि नै अध्यक्ष लण्ेखा परीक्षण समेत भएको छैन । सदस्यहरुको दबाबमा यस वर्ष लेखापरीक्षण गराउँदा अध्यक्षले झण्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने देखिएको सदस्य लामाले बताइइन् । ‘हामी त सबै विस्वासमै थियौं, यस्तो होला भन्ने चिताएकै थिएनौं,’ उनले भनिन् ‘अहिले आएर बिचल्ली भयो, पैसा पनि जाने, जग्गा पनि लिलामी हुने ।’

Advertisement

अध्यक्षको बदमासी सार्वजनिक भएपछि अधिकांश सदस्यले आफूले लगेको बाँकी ऋण बराबरको रकम सदरमुकाममा रहेको बैंक शाखामा पुगेर चुक्ता गरेको बताउँछन् । आफ्नो ऋण बराबरको रकम तिरेपछि सम्बन्धित जग्गा फुकुवा गर्ने आश्वासन बैंकले पनि दिएको उनीहरुको दाबी छ । ‘बैंकले आफ्नो पैसा चुक्ता गर्नुस् जग्गा फुकुवा गर्दिन्छु भनेको हो,’ लामाले भनिन् ‘हामीले चुक्ता गरेपछि बैंकले पनि अध्यक्षबाट सबै रकम नआइ मिल्दैन भनेर झुक्याए, अहिले सबैको जग्गा लिलामी गर्ने भनेर पत्र आएको छ ।’

गत पुस ४ मा बैंकबाट पत्र आएपछि अध्यक्षलाई कारवाहीको माग गर्दै सदस्यहरु विभिन्न निकायमा धाएका छन् । सुरुआती चरणमा २ पटकसम्म पालुङ्टार नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालयमा उनीहरु गए । तर आश्वासन बाहेक केही नपाएपछि वाध्य भएर जिल्ला प्रशासन कार्यालय आउनु परेको पीडितको गुनासो छ ।

उता अध्यक्ष वाइवा भने आफूमाथि लगाइएको सबै अरोपमा सत्यता नभएको जिकीर गर्छन् । ‘उनीहरुले भनेजस्तो ४० लाख होइन १५÷१६ लाख जति मैले तिर्नुपर्ने हुन्छ,’ वाइवाले भने ‘उनीहरु मन लागे किस्ता तिर्ने नलागे नतिर्ने । २२ महिनासम्म त सबैको किस्ता मैले नै तिरिदिएको हुँ, अहिले आएर हिसाब खोजेर हुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।

यता साँग्रिला विकास बैंक भने ऋण सबै चुक्ता नभइ जग्गा फुकुवा गर्न नमिल्ने बताउँछ । ‘जग्गा फुकुवा हुन त ऋण चुक्ता हुनै पर्छ’ बैंकका कर्जा विभागका सन्दिप श्रेष्ठले भने ‘किस्ता नतिरेपछि म आफै १ हप्तासम्म उहाँहरुको घरघर गएको हुँ, अहिले आएर केहीले चुक्ता गर्नुभएको छ, तर सबै नआइ फुकुवा गर्न हाम्रो पोलिसीले मिल्दैन ।’

सहकारीका अध्यक्षलाई कारवाही र रकम असुल उपर गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय गोरखा पुगेका पीडित सदस्य ।

तपाईको प्रतिक्रिया