सुल्झिएन वडाध्यक्ष कुटपिट काण्ड

समाधान संवाददाता २०७६ साउन १५ गते १२:११

समाधान संवाददाता
पोखरा

पोखरा २१ का अध्यक्ष खगराज आचार्यलाई कुटपिट गरेको घटनालाई आन्तरिक रुपमा मिलाउने प्रयास सफल भएको छैन । पोखरा महानगरका मेयर मानबहादुर जिसीले वडाध्यक्ष आचार्यलाई मुद्दा फिर्ता लिन र दाताराम आचार्यलाई आफूले सम्झाउने भने पनि विवाद सुल्झिएको छैन । वडाध्यक्ष आचार्यलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दाताराम सार्वजनिक मुद्दामा म्याद थपपछि प्रहरी हिरासतमै छन् ।

वडाध्यक्ष आचार्यले दातारामले गल्ती महसुस गर्नुपर्ने र आफूलाई नसच्याउँदासम्म मुद्दा फिर्ता नलिने अडान राखेका छन् । मेयर मानबहादुर जिसीले घटना मिलाउने प्रयास भइरहेको बताउँछन् ।

Advertisement

कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दातारामले भने, ‘वडा कार्यालयमा भ्रष्टाचार भएको सवाललाई मैले उठाउँदै आएको छु । त्यही कारण वडाध्यक्ष आचार्यले पूर्वाग्रही ढंगले मलाई फसाउन खोजेका हुन् ।’ स्थानीय तहको चुनावमा वडाध्यक्षमा खगराजलाई जिताउन सक्रियतापूर्वक सहयोग गरेको उल्लेख गर्दै दातारामले पार्टी संगठनमा समेत आफ्नो सक्रियता रहेकोे दाबीसमेत गरे ।

वडाध्यक्ष आचार्यले फेसबुकको फेक आइडी बनाएर ब्लाकमेलिङ गरेको उल्लेख गर्र्दै दातारामले उक्त आइडीबाट आफूमाथि नराम्रो शब्द प्रगोग भएको दाबी गरेका छन् । वडा कार्यालयको भ्रष्टाचारको विषयमा पटक पटक पार्टीभित्र पनि छलफल गरेको दातारामले प्रहरीलाई बयान दिएका छन् । दातारामले अध्यक्ष आचार्यलाई हातपात गरेको स्वीकार नगरेको प्रहरीले जनाएको छ ।

Advertisement

वडाध्यक्ष खगराज आचार्यले वडाको भ्रष्टाचारको विषय कहिल्यै र कतै पनि नउठेको बताए । भ्रष्टाचारको विषयमा अहिलेसम्म पार्टीभित्र छलफल नभएको उल्लेख गर्दै उनले दातारामले आफूलाई प्रहरीको अगाडि नै मार्ने धम्की दिएको समाधानसँग बताए । ‘मेरो वडाको खाता पनि छैन । मेरो हस्ताक्षरले वडाको पैसा प्रयोग गर्न मिल्दैन,’ वडा अध्यक्ष आचार्यले भने, ‘ भ्रष्टाचारको विषयलाई लिएर पोखरा महानगरपालिका, अख्तियार जानुपर्ने ठाउँमा हातपात गर्ने काम गलत छ ।’ उनले आफूलाई आइतबार साँझ कुटपिट भएपछि वडा प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले खानेपानी समितिका लागि वडाध्यक्ष आचार्यले अनुगमन समिति बनाउने भनेपछि दाताराम रिसाएका कारण दुवै पक्षबीच असहमति बढेको बताए । नेकपाका वडा नम्बर २१ का १ कार्यकर्ताले घटनालाई आन्तरिक रुपमा मिलाउनुपर्नेमा प्रहरी प्रशासन समक्ष पुग्नु गलत भएको बताए । पार्टीका नेता तथा जनप्रतिनिधि आपसमा मिलेर विकास निर्माणमा जुट्नुपर्नेमा झैझगडामा फस्नु गलत भएको प्रवक्ता नेपालीको भनाइ थियो ।

तपाईको प्रतिक्रिया