अकालमा ज्यान फाल्दै युवा

समाधान संवाददाता २०७६ साउन १६ गते १२:५८

मोहसिन अली मियाँ
गोरखा

बुधबार एकाबिहानै अपत्यारिलो खबर आयो । खबर थियो, सहिद लखन गाउँपालिका ७ बुंकोटमा १२ वर्षकी बालिकाले झुण्डिएर आत्महत्या गरिन् । कक्षा ५ मा पढ्ने बुंकोटकी प्रशान्ता श्रेष्ठले किन फालिन् ज्यान ? कारण ठूलो थिएन ।

भएको के रहेछ भने, अघिल्लो दिन मंगलबार बेलुका उनले आमाको ५० रुपैयाँ नसोधिकनै झिकिछन् । आमाले थाहा पाएपछि सभ्य भाषामा छोरीलाई सम्झाउने प्रयास गरिन् । रकम ठूलो थिएन तर बानी बिग्रिने भन्दै उनकी आमाले आवश्यक भए माग्न सुझाव दिइन् । यो सबैको अभिभावकले स्वभाविकै गर्ने व्यवहार थियो । तर उनलाई त्यही कुराले बिझायो ।

Advertisement

बिहान आमा धारामा गएको बेला पिङ हाल्छु भन्दै लुगा सुकाउने डोरी ल्याएर उनी झुण्डिइन् । तत्कालै उनकी ७ बर्षकी बहिनी प्रविनाले देखिन् । छिमेकीलाई बोलाएर डोरी त काटियो तर प्रशान्तालाई बचाउन सकिएन । ‘पैसा चोर्नु हुन्न भनेर अजी र ममीले बेलुका नै भन्नुभएको हो, म आफ्नै धुनमा खेलिरहेको थिएँ, दिदी पिङ हाल्छु भनेर डोरी लिएर भित्र जानुभएको हो’, बहिनी प्रविनाले आँखाभरि आँसु बनाउँदै भनिन्, ‘एकछिन पछि जादा त डोरीमा झुण्डिरहनु भएको रहेछ ।’

यस्तो घटना गोरखामा नयाँ होइन । ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्षमा आत्महत्या बढेको देखिन्छ । २०७३÷७४ मा ५३ जनाले आत्महत्या गरे भने ७४÷७५ मा केही घटेर ४७ मा झर्‍यो । तर त्यो संख्या २०७५÷७६ मा ह्वात्तै बढेर ६८ पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

Advertisement

जिल्लामा आत्महत्या न्यूनीकरणका अभियान नचलेका पनि होइनन् । विद्यालय, कलेज लगायत बिभिन्न समुदायमा प्रहरी र नागरिक समाज स्तरबाट पनि अभियान चलिरहेकै छन् । तर दिनप्रतिदिन संख्या भने बढ्दो देखिन्छ । ३ वर्षको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेमध्ये सबैभन्दा युवा बढी छन् । ३ वर्षमा आत्महत्या गरेका १ सय ६८ जनामध्ये ९५ जना १८ देखि ४० वर्षभित्रका छन् ।

बेरोजगारी मुख्य कारण
हाम्रो समाजमा बेरोजगारी मुख्य समस्या हो । बेरोजगारीकै कारण दिनप्रतिदिन युवा वैदेशिक रोजगारीका लागि पलायन हुने क्रम बढ्दो छ । गरिबी र बेरोजगारीका कारण हत्या हिंसा, लुटपाट र अवैद्य धन्दा पनि उत्तिकै मौलाएको देखिन्छ । तर त्यसोमात्रै होइन, पछिल्लो समय बेरोजगारी र गरिबीकै कारण आत्महत्या दर पनि बढ्दो छ ।

जिल्लाको गत ३ आर्थिक वर्षको तथ्यांकलाई केलाउने हो भने ४३ जनाले सोही कारणबाट आफ्नो ज्यान फालेका छन् । यस वर्षमात्रै २७ जनाले बेरोजारीका कारण आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अशिक्षा, घरेलु हिंसा, मानसिक असन्तुलन, प्रेममा असफलता, उच्च आकांक्षा, सामाजिक सञ्जालको दुरुपयोग, परीक्षामा असफलता, सामाजिक दबाब, बसाइसराइ लगायतका कारणले पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।

कमजोर मानसिकता हुनेले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए । चुनौतीसँग सामना गर्न असमर्थलाई यस्तो किसिमको विचार आउन सक्ने उनको भनाइ छ । एसपी अधिकारीले मानिसले जीवनको मूल्य नबुझ्दा र समयअनुकूल आफुलाई परिमार्जन गर्न नसक्दा यो समस्या आएको बताए ।

तपाईको प्रतिक्रिया