बालश्रमिकको भयावह अवस्था

समाधान संवाददाता २०७६ साउन १६ गते १३:३५

बाल अधिकार संरक्षणका लागि मुलुकमा धेरै पटक धेरै कानुन बनेका छन् । एकातिर कानुनको थुप्रो अर्कोतिर श्रमबजारमा बालबालिकाको अत्यधिक प्रयोग भइरहेको अवस्था । मुलुकका लागि यो निकै जटिल अवस्था हो । पश्चिमा मुलुकहरु बालश्रमप्रति निकै सचेत छन् । नेपालमा निकै फस्टाएको गार्मेन्ट उद्योगमा बालश्रम प्रयोग भएको एक तथ्य सार्वजनिक भएपछि गलैंचा र पश्मिनाको निर्यात ओरालोमा झरेको दृष्टान्त हामीसँगै छ ।

जसका कारण मुलुकले आर्थिक रुपमा मात्र होइन कि सामाजिक रुपमै घाटा बेहोर्नुपर्‍यो त्यसैका बारेमा सरोकारवाला अझै सचेत भएको पाइएको छ । पछिल्लो कानुनले त बालबालिकाको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याएको छ । त्यसो नागरिकता ऐनले १६ वर्ष पुगेपछि नागरिकता देऊ भन्छ । नागरिकता पाइसकेपछि नागरिकले पाउने हक अधिकार उसले भोग गर्न पाउने भन्ने हो । तर अर्को कानुनले बालबालिकाको उमेर १८ वर्ष मुनि तोकिदिएको अवस्था छ ।

असार अन्तिम साता पोखराको फूलबारीका केही होटलबाट श्रम कार्यालय पोखराले कठीन अवस्थामा काम गरिरहेका बालबालिकालाई उद्धार गर्‍यो । उद्धार गरेर तत्कालका लागि गैरसरकारी संस्थामा राखेर उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ । उनीहरुले काम गरेवापत पाउने पारिश्रमिक दिलाएर होटल सञ्चालकलाई कारवाही समेत गरिएको छ । उजुरी परेको आधारमा श्रम कार्यालयले पहिलो प्रयास त गरेको छ ।

तर यही कारवाही पर्याप्त हो त ? भन्ने प्रश्न उब्जिएको छ । पोखराका साना ठूला होटलहरुमा यस्ता बाल मजदुर प्रशस्त छन् । एकथरि साँच्चिकै दुख पाएर हातमुख जोड्नकै लागि श्रम गर्न वाध्य छन् भने अर्कोथरि साथीभाइको लहलहैमा लागेर गाउँबाट भागेर आएकाहरु छन् । जेजस्तो भए पनि बालबालिकालाई श्रममा लगाउन नपाउने कानुन त बनेकै छ । यसलाई होटलवालाले पालना किन नगर्ने । साँझ बिहान खान दिने र चाडबाड परेका बेला घरमा धेरथोर पैसा पठाइदिएकै भरमा बालबालिकालाई काम लगाउने यहाँ धेरै छन् । अनि यस्ता बालबालिकाले एकोहोरो काम गर्ने भएकाले वयस्कले भन्दा पनि बढी श्रम गर्छन् । यही कारण साना लगानीका होटेल रेस्टुरेन्टको नजरमा बालबालिका पर्ने परेको पाइन्छ ।

नेपाल विश्वमा निकै उच्च बालश्रम दर रहेको मुलुकमध्ये एक हो । एक सर्वेक्षण अनुसार सन् १९९८÷९९ मा नेपालमा ५ वर्षदेखि १४ वर्ष उमेर समूहमा ४९ लाख बालबालिकाहरुमध्ये २० लाख (४१ प्रतिशत) बालबालिकाहरु विविधखाले श्रममा संलग्न थिए । अहिले समय धेरै घर्किएको छ । त्यतिबेला त यो अंक भयानक थियो भने अहिलेको हालत के होला ? अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार नपालमा करिब २६ लाख बालबालिका श्रममा संलग्न छन् । तीमध्ये सबैभन्दा बढी कृषि क्षेत्रमा ९४.७ प्रतिशत कृषिक्षेत्रमा, १.५६ प्रतिशत सेवा क्षेत्रमा, १.५६ प्रतिशत निर्माण तथा यातायातको क्षेत्रमा, ०.८४ प्रतिशत साधारण प्राविधिक कार्यहरुमा, ०.७८ प्रतिशत औद्योगिक क्षेत्रमा र ०.४२ प्रतिशत बिक्री वितरणको क्षेत्रमा सक्रिय छन् ।

कृषि क्षेत्रमा सक्दो काम गर्नुलाई श्रम शोषण नै भन्न नसकिए पनि कतिपय संस्थागत फार्महरुले बालबालिकलाई कम ज्याला दिएर श्रममा लगाइरहेका छन् । बाल श्रममा लगाउने क्रम गाउँ भन्दा सहरमै बढी छ । अनि अधिकारकर्मी पनि सहरमै केन्द्रित छन् । अधिकारकर्मी र सरोकारवाला कार्यक्रमका लागि कार्यक्रम गर्ने मात्र होइन कि देखिने र महसुस हुने गरी काम गर्न अब ढिला भइसकेको छ ।

तपाईको प्रतिक्रिया