मुख्यमन्त्रीलाई प्रश्नः पोखरा बसपार्क कहिले सुध्रिन्छ ?

समाधान संवाददाता २०७६ साउन १७ गते १३:४६

समाधान संवाददाता
पोखरा

पर्यटकीय नगरीको उपमा पाएको पोखरामा केही मानव निर्मित बैगुनहरु छन् । यसमध्येको एक पोखरा बसपार्क पनि हो । धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा आउने पर्यटकमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै सुधार गर्न खबरदारी गर्दै आएका छन् ।

जनताको गुनासो र सुझाव लिन सञ्चालनमा आएको ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग यसबारे प्रश्न गरियो । पोखरा न्यूरोड निवासी भानु पाण्डेले ‘पृथ्वीचोकस्थित बसपार्क कहिले सुधार हुन्छ ?’ भनी प्रश्न गरे ।

Advertisement

बसपार्ककै कारणले पर्यटकमा नकारात्मक सन्देश गएको भन्दै उनले गुनासो पोखे । बसपार्क व्यवस्थित नहुँदा राजमार्गमा बढी भीडभाड भएकाले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएकाले मुख्यमन्त्रीलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

जवाफमा मुख्यमन्त्री गुरुङले महानगरपालिकाका मेयरसँग आफूले यसबारे छलफल गरेको र प्रदेशको सहयोगमा महानगरले यसको सुधार गर्ने जानकारी दिए । मुख्यमन्त्री गुरुङले बसपार्कको जग्गामा मानवीय अतिक्रमण भएकाले त्यसको व्यवस्थापनमा केही ढिलाइ हुनसक्ने उनले बताए ।

Advertisement

अवैध बस्तीको विषयमा प्रदेश सरकारले विकल्प सोचिरहेको बताउँदै बसपार्कको विषयमा आफूले चासो राखेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले बस्ती व्यवस्थापन गरेपछि संघ सरकारबाट समपूरक अनुदान बजेट ल्याएर बसपार्क निर्माण गर्ने प्रदेश सरकारको विकल्प सुनाए ।

स्वयं उपस्थित भएका मुख्यमन्त्रीलाई बागलुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिएको गुनासो आयो । बागलुङबाट खिमानन्द कडेंलले सो क्षेत्रको २० किलोमिटर निर्माण कार्य रोकिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा मुख्यमन्त्रीले सम्बन्धित निर्माण कम्पनीसँग आफूले कुरा गर्ने बताए ।

त्यस्तै, नवलपुरबाट गोकुल रिमालले मध्यबिन्दु जिल्ला अस्पतालको प्रमुखमा नियुक्त गरेको व्यक्ति निजी अस्पताल सञ्चालक भएको भन्दै यसले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । मुख्यमन्त्री गुरुङले जवाफमा गुड फेथको आधारमा नियुक्त दिइएको भन्दै केही महिना उनको कामलाई हेर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया