मुस्ताङका निजी विद्यालयमा विद्यार्थीकाे सङ्ख्या बढ्दाे

समाधान संवाददाता २०७६ साउन १७ गते १४:०८

समाधान संवाददाता
मुस्ताङ

मुस्ताङका सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा विद्यार्थी दोब्बर भएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले दिएको जानकारी अनुसार ५४ सामुदायिक विद्यालयमा २ हजार ५ सय १९ विद्यार्थी छन् भने १२ निजी विद्यालयमा १ हजार ३ सय १३ विद्यार्थी छन् । विद्यालय र विद्यार्थी अनुपात हेर्दा सामुदायिकमा भन्दा निजी विद्यालयमा विद्यार्थी दोब्बर देखिएको हो ।

मुस्ताङमा ५४ सामुदायिक, ८ गुम्बा र ४ वटा निजी बोडिङ छन् । थासाङका ३ वटा मावि सहित १२ सामुदायिकमा कुल ७ सय ५ जना विद्यार्थी छन् । १ गुम्बामा २ सय १९ विद्यार्थी छ ।

Advertisement

घरपझोङमा १ माविसहित ८ सामुदायिक र १ निजी माविसहित २ वटा निजी विद्यालय छन् । सामुदायिकमा ७ सय ३९ जना र निजी विद्यालयमा ४ सय २५ जना विद्यार्थी छन् । वारागुङ मुक्तिक्षेत्रमा १ माविसहित १४ सामुदायिकमा ५ सय २४ विद्यार्थी र १ गुम्बामा ७६ विद्यार्थी छन् ।

उपल्लो मुस्ताङको लोमन्थाङमा १ माविसहित १० वटा सामुदायिक विद्यालय र ४ वटा गुम्बा छन् । त्यहाँ सामुदायिकमा कुल २ सय ५१, गुम्बामा ३ सय ८४ र निजी विद्यालयमा १ सय १२ विद्यार्थी छन् ।

Advertisement

लोघेकर दामोदरकुण्डमा माध्यमिकत तह सञ्चालन भएका विद्यालय नै छैनन् । सामुदायिकतर्फ ८ वटा आधारभूत विद्यालयमा २ सय ३९ विद्यार्थी छन् भने २ वटा गुम्बामा ३९ विद्यार्थी छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालका अनुसार निजी गुम्बा र बोर्डिङको तुलनामा सामुदायिकमा ८० प्रतिशत विद्यार्थी बाहिरी जिल्लाका छन् । सामुदायिक विद्यालयमा आवासीय सुविधा अभाव र मातृभाषा शिक्षा सञ्चालन हुन नसक्दा स्थानीय विद्यार्थी न्यून भएको इकाइ प्रमुख बरालको भनाइ छ । वारागुङ मुक्तिक्षेत्रले सामुदायिक विद्यालयमा स्थानीय विद्यार्थी वृद्धि गर्न ३ वटा विद्यालयमा मातृभाषा शिक्षा लागु गरेको उनले जानकारी दिए ।

धौलागिरि बोर्डिङका भाइस प्रिन्सिपल अनिरुद्र गौतमले निजी विद्यालयले समय सापेक्ष अंग्रेजी माध्यममा शिक्षा दिएकाले निजी विद्यालयतर्फ स्थानीय आर्कषण बढेको दाबी गरे । धौलागिरि बोर्डिङमा ४ सय ३ विद्यार्थीमध्ये जिल्ला बाहिरका ५१ जनामात्रै विद्यार्थी रहेको गौतमले बताए ।

मुस्ताङका सामुदायिक विद्यालयमा स्थानीय बालबालिका न्यून छन् । स्थानीयको गुम्बा विद्यालयप्रति आर्कषण, पोखरा, काठमाडौंका महँगा विद्यालयमा पढाउने र विभिन्न संघ–संस्थाले निशुल्क निजी विद्यालयमा पढाइदिने हुनाले सामुदायिकमा स्थानीय बालबालिकाको उपस्थिति न्यून भएको हो । मुस्ताङका सरकारी विद्यालयको साख अल्पकालीन तथा दीर्घकालीन रुपमा जिल्ला बाहिरबाट बसोबास गर्ने बालबालिकाले जोगिएको छ । यहाँ विभिन्न कामका लागि ज्याला मजदूरी गर्न आएका १६ जिल्लाका मजदुरका बालबालिका सामुदायिकमा पढिरहेका छन् ।

तपाईको प्रतिक्रिया