रोकिएन श्रृंखलाबद्ध वडा कार्यालय चोरीः सोमबार रातिमात्रै वडा ६ मा चोरी

समाधान संवाददाता २०७६ साउन २२ गते ११:५४

विकास रोकामगर
पोखरा

चोरी १
फागुन १ गते पोखरा ५ वडा कार्यालयमा चोरी भयो । पोखरा महानगरको प्रवक्तासमेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीको वडा कार्यालयबाट एउटा ल्यापटप, ४ वटा कम्प्युटर र २ वटा सिपियु चोरी भएको थियो

कार्यालयमा भएको सिसिटिभी क्यामेरामा चोरी भइरहेको भिडियोसमेत कैद भएको थियो । जसमा चोरको हुलियासमेत प्रष्ट देखिएको थियो । वडाले उक्त भिडियोसहित वडा प्रहरी कार्यालय बैदाममा उजुरी पनि दर्ता गरेको थियो । तर, हालसम्म प्रहरीले चोरलाई पक्रन सकेको छैन ।

Advertisement

चोरी २
फागुन २३ गते राति पोखरा १३ को वडा कार्यालयमा चोरी भयो । सम्पूर्ण काम कम्प्युटराइज्ड भएको उक्त वडाबाट ४ वटा मनिटर, २ वटा सीपीयू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरील भएको थियो । सीसीटिभी क्यामेरा नै डिस्कनेक्ट गरेर कार्यालयमा चोरी भएको थियो । जसका कारण चोरको पहिचान गर्न पनि समस्या आएको थियो ।

चोरी ३
मंसिर अन्तिम साता पोखरा १४ को वडा कार्यालयमा चोरी भएको थियो । त्यहाँबाट चोरले २ थान कम्प्युटर चोरेको वडाध्यक्ष प्रेमबहादुर कार्की बताउँछन् । उक्त चोरीमा वडा कार्यालयलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेको थियो । तर, पछि उनलाई सामान्य सोधपुछ गरेर छोडियो ।

Advertisement

माथिका घटना पोखरा महानगरका वडा कार्यालयमा चोरी भएका उदाहरणमात्र हुन् । श्रृंखलाबद्ध रुपमा कहिले हप्ता दिन त कहिले महिनादिनको फरकमा महानगरका वडा कार्यालयमा चोरी हुने क्रम रोकिएको छैन । श्रृंखलाबद्ध रुपमा महानगरका वडा कार्यालयमा चोरी हुन थालेको लामो समय भइसक्दा पनि कुनै पनि घटनामा संलग्न चोर पत्ता लगाउन सकेको छैनन् ।

गत भदौबाट वडा कार्यालय श्रृंखला सुरु भएको थियो । कुल ३३ वडामध्ये हालसम्म ९ वटा वडामा चोरी भइसकेका छन् । पटकपटक वडा कार्यालयमा चोेरी हुन थालेपछि ती चोरीबाट महानगरले महत्वपूर्ण कागजातसहित लाखौं मूल्य बराबरको क्षति व्येहोर्दै आइरहेको छ ।

महानगरको सुरक्षामै चुनौतीः महानगर
लगातारको चोरीबाट महानगरको संवेदनशील विषयमा हानीमात्रै होइन सुरक्षा व्यवस्थामै प्रश्न उठ्न थालेको छ । यसबाट महानगरलाई सुरक्षामा चुनौती पुगेको महानगरका प्रवक्ता धनबहादुर नेपाली बताउँछन् ।

वडा कार्यालयमा लगातार चोरी बढ्न थालेपछि चैत १ गते बसेको महानगरको २८ औं बैठकले रात्रीकालीन कर्मचारी खटाएरै सुरक्षा विधि अपनाउने कार्यपालिका बैठकले नै निर्णय गरेको थियो । निर्णय अनुसार महानगरका वडा नम्बर १८, ८, १२ र १ बाहेक अरु वडामा रात्रीकालीन कर्मचारी खटाउने भनिएको थियो । ‘ती वडा प्रहरी कार्यालय नजिक छन् । अरु वडामा एउटा एउटा प्रहरी रातभर खटिने कुरा भएन । त्यही भएर कर्मचारी नै राख्ने निर्णय गरेका थियौं,’ उनले भने ।

वडा कार्यालयलाई सुरक्षित बनाउन रात्रीकालीन कर्मचारी राख्ने निर्णय भएपनि प्रभावकारी हुन सकेको छैन । सोमबार रातिमात्रै पोखरा ६ को वडा कार्यालयमा चोरी भएको छ । बिहान वडा कार्यालयमा पुग्दा चोरी भएको वडाध्यक्ष जगत पहारीले बताए । कार्यालयबाट २ वटा कम्प्युटर चोरी भएको हो ।

रात्रीकालीन कर्मचारी पोखरा ५ ले बाहेक अरु कार्यालयले कर्मचारीको व्यवस्था गर्न सकेका छैनन् । ‘अन्य वडाले रात्रीकालीन कर्मचारी नराखेकै कारण पनि चोरीको खतरा झनै बढेको छ,’ प्रवक्ता नेपालीले भने, ‘आफ्नो वडालाई सुरक्षित बनाउन पहिले त सम्बन्धित निकाय नै जागरुक हुनुप¥यो ।’

प्रवक्ता नेपालीले वडा कार्यालयमा राखिएका सिसिटिभी क्यामेरासमेत गुणस्तरहीन हुँदा चोर पहिचान हुन नसकेको स्वीकार्छन् । ‘वडा कार्यालयमा राखिएका सिसिटिभी क्यामेरा क्वालिटीका छैनन् । ब्ल्याक एन्ड ह्वाइटमा चोर देखिएपनि पहिचान गर्न गाह्रो छ,’ उनले भने । वडामा गुणस्तरीय सिसिटिभी क्यामेरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

हामी अनुसन्धान मै छौंः प्रहरी
श्रृंखलाबद्ध रुपमा पोखरा महानगरका वडा कार्यालयमा चोरी भइरहेका छन् । घटना घट्न सुरु भएको लामो समय भइसक्दा पनि प्रहरी प्रशासनले चोरीमा संलग्नलाई नियन्त्रणमा लिन सकेको छैन । कास्की प्रहरीका अधिकारी सुक्ष्म अनुसन्धानमा लागिरहेको बताउँछन् ।

‘अहिले हामी प्लानिङ गरेरै अनुसन्धानमा जुटेका छौं,’ प्रहरी प्रवक्ता राजकुमार केसीले भने, ‘चोरीमा संलग्न भएकालाई नियन्त्रणमा लिन घर बनाएजस्तो यति दिनमा सकिन्छ भन्ने हुँदैन । १ घन्टामै नियन्त्रणमा लिन पनि सकिन्छ । महिनौं लाग्न पनि सक्छ ।’

प्रवक्ता केसीले चोरले महानगरका विद्युतीय सामानलाई निशाना बनाइरहेकाले त्यही अुनसार विशेष प्रकारको अनुसन्धान गरिरहेको जानकारी दिए । उनले अन्य प्रकारका चोरीमा संलग्नलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेकोले चाँडै चोर पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया