बालविकास शिक्षक आन्दोलित

समाधान संवाददाता २०७६ साउन २४ गते १३:३८

समाधान संवाददाता
पर्वत

बालबालिकाको उज्यालो भविष्य देखाउने बालविकास शिक्षक राज्यबाटै अपहेलित भएको भन्दै असन्तुष्ट भएका छ्न । पर्वत जिल्लाका सामुदायिक विद्यालयका बाल विकास शिक्षकको जिल्ला सम्मेलनमा बोल्ने वक्ताले यस्तो असन्तोष व्यक्त गरेका हुन् । जिल्लाका ३ सय विद्यालयमा कार्यरत बालविकास शिक्षक, शिक्षकका विभिन्न संगठन, जनप्रतिनिधि र शिक्षाका कर्मचारीले बालविकास शिक्षकका समस्या उठान गरे ।

सरकारले एउटा अपराधीले दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भए पनि बाल शिक्षक हरुले दैनिक २ सय रुपैयाँमा काम गर्नुपरेको भन्दै राज्यको विभेदविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

Advertisement

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले शिक्षकका पीडा आफूले बुझेको भन्दै माग सम्वोधनका लागि केन्द्र र प्रदेश सरकार लाई झक्झकाउने बताइन् । लामिछानेले गत वर्ष आफ्नो नगरपालिकाले ५ सय रुपैयाँ अतिरिक्त तलब बढाएको सुनाइन् । कार्यक्रममा केन्द्रीय बाल शिक्षक अधिकार समितिका अध्यक्ष कृष्णकुमारी थापा मगरले राज्यले आफूहरुको समस्या नसुनेको भन्दै आपत्ति जनाएकी छन् । मगरले राज्यको हरेक विकास र परिवर्तनमा शिक्षक र महिलाहरुको महत्वपूर्ण भूमिका रहेको भए पनि राज्यले आफूहरुको योगदान अवमूल्यन गरेको आरोप लगाइन् ।

कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षत्रीले सडक बनाउन बर्सेनि करोडौं खर्चिने स्थानीय सरकारले शिक्षकलाई १ रुपैयाँ लगानी नगरेको भन्दै दुख व्यक्त गरे । क्षत्रीले शिक्षालाई प्राथमिकता दिनुपर्ने देशका ३ तहका सरकारको ध्यान अन्यत्रै गएको भन्दै शिक्षाको क्षेत्रमा र शिक्षकको समस्यामा केन्द्रित हुन आग्रह गरे ।

Advertisement

कार्यक्रममा बाल शिक्षक अधिकार समिति सुदूर पश्चिमका उपाध्यक्ष शान्ति काफ्ले, पर्वत जिल्ला अध्यक्ष शान्तिकुमारी शर्मा, शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्द पोखरेल, अखिल नेपाल शिक्षक संगठनका पर्वतका अध्यक्ष चिरञ्जीवी अधिकारी, अखिल नेपाल शिक्षक संगठन पर्वतका वरिष्ठ उपाध्यक्ष चूडामणि पौडेल लगायतले बाल शिक्षकको अधिकार रक्षा गर्न सहयोगका लागि तयार रहेको बताए । जिल्ला अध्यक्ष शान्तिकुमारी शर्माको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा दिव्या सापकोटा र सञ्चालन शर्मिला पौडेलले बोलेका थिए । पर्वतमा बाल विकास शिक्षक ३ सय ७ जना छन् ।

तपाईको प्रतिक्रिया