झुक्याएर धर्म परिवर्तन गराउने सच्चाईका १ जना पक्राउ

समाधान संवाददाता २०७६ साउन २६ गते १२:५१

समाधान संवाददाता
पोखरा

सर्वसाधारणलाई विभिन्न रोग परमेश्वरले निको पार्ने भ्रम छरेर धर्म परिवर्तन गराउने १ जना पक्राउ परेका छन् । पोखरा १७ महतगौंडामा रहेको सच्चाईको सत्संगका जमबहादुर पुनलाई शनिबार प्रहरीले पक्रेको हो ।

सर्वसाधारणलाई सबै धर्म मान्न मिल्ने, रोग निको हुने प्रलोभन दिएर हरेक शनिबार यहाँ बोलाउने गरिएको थियो । महतगौंडाका स्थानीयले यसबारे चासो राखेर सोधखोज गर्दा सच्चाइले बाइबल र प्रार्थना किताब सर्वसाधारणलाई किन्न लगाएको पाइएको छ । मूल्य उल्लेख नभएको बाइबलको सर्वसाधारणले ६ सय ७० रुपैयाँ तिरेका छन् ।

Advertisement

शनिबार कार्यक्रमका लागि उपस्थित करिब २० जनाकै अगाडि जमबहादुर र उनकी छोरीले आफूहरु क्रिस्चियन भएको र सच्चाई त्यही धर्म भएको स्वीकारेका थिए । परमेश्वरको ध्यान गरे मुटुरोग, सबै प्रकारका रोग निको हुने भनी घरदैलो गरेर उनीहरुले त्यस क्षेत्रका स्थानीयलाई भेला गराएका हुन् । जुमबहादुरले भने, ‘परमेश्वरको कृपाले धेरै जना निको भएका छन् । गलत काम गरेका छैनौं ।’

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । स्थानीय दीपक आचार्य घरघरै गएर सच्चाईमा गए निको हुन्छ भनी भ्रम छर्ने र छिमेकीलाई वाधा हुने गरी होहल्ला गरेकाले प्रशासन गुहारेको बताए । उनले भने, ‘रोग निको हुन्छ भनेर मुटुरोगीलाई भजन गाउन लगाउनेहरुले उनीहरुको ज्यान तलमाथि भए जिम्मा लिन्छन् ?’

Advertisement

तपाईको प्रतिक्रिया