प्रधानमन्त्रीको उपचारः के हो प्लाज्मा फेरेसिस ?

समाधान संवाददाता २०७६ भदौ ९ गते १३:५२

सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सुरू भएको छ । शरीरमा रहेको रगत फिल्टर गर्ने काम ‘प्लाज्माफेरेसिस’ शुक्रबारदेखि नै सुरू गरिएको छ ।

‘प्लाज्माफेरेसिस’ सुरू भएको र यो प्रक्रिया अझै केही पटक गरिने प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिब्या सिंह शाहले जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् । प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रक्रिया हो । रगतमा रहेको पारदर्शी वस्तु हो प्लाज्मा । यसले रेड सेल, ह्वाइट सेल, प्लेटलेट्स र ब्याक्टेरिया, भाइरससँग लड्ने ‘एन्टिबडी’ बोक्ने गर्छ ।

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ । रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रवाह गराउँछ । रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ ।

Advertisement

चिकित्सकहरुका अनुसार ‘प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिनले रिप्लेस गर्नुपर्ने हुन्छ । यो उपचार कम्तीमा ३ देखि ४ पटक गर्नुपर्ने जानकारी डा. दिव्या सिंहले गराएकी छन् । प्रधानमन्त्री ओलीलाई गरिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ । दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ । मृगौलाकै परीक्षणका लागि प्रधानमन्त्री ओली यसअघि गत साउन १८ गते सिंगापुर गएका थिए ।

शरीरमा अर्को मानिसको मिर्गौला आएपछि बाह्य वस्तुसँग लड्ने ‘एन्टिबडी’ले सो मिर्गौलालाई पनि कुनै हानिकारक वस्तु शरीरमा आएको ठान्छ । त्यसपछि मिर्गौलालाई मार्न आक्रमण गर्न थाल्छ ।

Advertisement

सोही अस्पतालमा परीक्षण गराई साउन २७ मा स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले प्लाज्मा फेरेसिस बिधिबाट उपचार गर्नुपर्ने बताएपछि भदौ ५ गते पुनः सिंगापुर गएका हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया