कहिले बन्छ गोरखा दरबार ?

समाधान संवाददाता २०७६ भदौ १२ गते १२:३०

मोहसिन अलि मियाँ
गोरखा

गोरखा दरबार घुम्न आउने अधिकांश पर्यटकको एउटै प्रश्न हुन्छ ‘कहिले बन्छ दरबार ?’ २०७२ सालको भूकम्पले ध्वस्त भएपछि पुरातत्व विभागले पुनर्निर्माणका लागि जगैदेखि दरबार भत्कायो । अधिकांश सामग्री पुरानै प्रयोग गर्ने र पहिलेकै स्वरुपमा पुनर्निर्माण गर्ने भनि २०७४ मा दरबार भत्काइएको थियो । भूकम्प गएको पनि ५२ महिना बितिसकेको छ तर दरबार पुनर्निर्माणको काम अहिलेसम्म जगमै अल्झिदा पूजा गर्न वा घुम्न आउने अधिकांश पर्यटकले दरबारमा कार्यरत कर्मचारीलाई सोध्ने अर्को पनि प्रश्न छ, ‘यो के बिजोग हो ?’ विभिन्न तिथिमा हुने पूजाआजा र दशैं लगायतमा आउने दर्शनार्थीलाई अहिले समस्या परेको छ ।

त्यसो त पुरातत्व विभागले ठेकेदार कम्पनीलाई दिएको पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा पनि धेरै छैन । आगामी मंसिर मसान्तसम्म सम्पूर्ण काम सक्ने गरी पचली भैरव शिभाको जेभीसँग २०७४ कात्तिकमा सम्झौता भए पनि समयमै काम नसकिने निश्चित छ । ‘अब ३ महिनाजति मात्रै बाँकी छ, पुनर्निर्माणको काम समयमै सकिने अवस्था देखिएको छैन,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले भने, ‘यसमा मुख्य जिम्मेवार ठेकेदार कम्पनी नै हो, हामीले सोचे अनुसार उहाँहरुले काम गरिदिनुभएन ।’ उनका अनुसार हालसम्म पुनर्निर्माणको काम २५ प्रतिशत पनि सकिएको छैन ।

Advertisement

विभाग मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ करोड ३२ लाख २९ हजार ३ सय १८ रुपैया दरबार पुनर्निर्माणका लागि छुट्याएको थियो । शाह वंशीय इतिहासको सबैभन्दा पुरानो उक्त दरबार पुनर्निर्माणको काममा ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । नेपाल एकीकरणको सुरुआत भएको उद्गम थलो मानिने गोरखा दरबार पुनर्निर्माणमा भइरहेको लापरवाहीमा पुरातत्व विभाग पनि उत्तिकै जिम्मेबार छ ।

समयसमयमा २ पक्षबीच हुने आन्तरिक द्वन्द्व र विभागले कडाइका साथ अनुगमन गर्न नसक्नुजस्ता कारणले पुनर्निर्माणको काम प्रभावित बनेको स्वयं कर्मचारी बताउछन् । ‘सुरुमै विभाग र ठेकेदारबीच टकराव भयो, काम गर्नुको सट्टा एकले अर्कोलाई दोष लगाउने मात्रै क्रम चल्यो,’ १ कर्मचारीले भने । नेपाल एकीकरणको केन्द्र गोरखा दरबार तत्कालीन राजा राम शाहको पालामा विक्रम सम्वत १६६६ ताका बनेको हो ।

Advertisement

विभागका कारण ढिला भयोः ठेकेदार कम्पनी
पुरतत्व विभागकै कारण दरबार पुनर्निर्माणको कामले गति लिन नसकेको ठेकेदार कम्पनी पचली भैरव शिभाको जेभीका सुशीलबाबु श्रेष्ठले बताएका छन् । विभागले पटक पटक दरबारको डिजाइन परिवर्तन गरिदिँदा काममा ढिलाइ भएको उनले आरोप लगाए । ‘सुरुमा हामीलाई एउटा डिजाइन दिनुभयो, काम गर्दै जाँदा ४ पटक त डिजाइनै चेन्ज गरिनिुभयो,’ श्रेष्ठले भने,‘जग खन्ने क्रममा उत्खनन गर्ने भन्दै स्टमेट भन्दा बढी १०÷११ फिट खन्न लगाउनुभयो, धेरै समय त जगमै गयो ।’

त्यस्तै उनले भौगोलिक कारणले पनि सोचे अनुसार काम हुन नसकेको बताएका छन् । निर्माण सामग्री राख्ने प्रयाप्त स्थान नहुनु, पानीको अभाव र आवस्यक निर्माण सामग्रीको अभावले पनि निर्माणको कामले गति लिन नसकेको उनको भनाइ थियो । ‘समस्या नै समस्याको बीचबाट काम अघि बढाउनुपर्ने वाध्यता छ, मंसिर मसान्तसम्म २ तला सम्पन्न गर्छौ, बाँकी १ तला अर्को २÷३ महिनामा सकेर हस्तान्तरण गर्छौ,’ ठेकेदार श्रेष्ठले भने ।

विभाग चुप लागेर बसेको छैनः पुरातत्व
दरबार पुनर्निर्माणका सवालमा विभाग चुप लागेर नबसेको पुरातत्व विभागले बताएको छ । ऐतिहासिक संरचना निर्माणमा विभाग संवेदनशील भएर लागेको पुरातत्व अधिकृत मन्जुसिंह भण्डारीले बताएकी छिन् । केही प्राविधिक कठिनाइका कारण पुनर्निर्माणको काममा ढिलाइ हुन गएको उनको भनाइ छ । ‘सुरुमा हामीले ६ महिनाजति अध्ययनमै लगाउनुपर्‍यो,’ गोरखा दरबार पुनर्निर्माण आयोजना प्रमुख समेत रहेकी भण्डारीले भनिन्, ‘हामीले जुन रफ्तारमा काम हुन्छ भनेर सोचेका थियौं त्यो हुन नसकेको सत्य नै हो ।’

विभागका कारण ढिलाइ भएको भन्ने ठेकेदार कम्पनीले लगाएको आरोप निराधार भएको भण्डारीको प्रष्टोक्ति छ । ‘हाम्रा कारणले निर्माण प्रभावित बनेको छैन, बरु हामीले उहाँलाई सहयोग र काममा सहकार्य गरेका छौं,’ उनले भनिन्, ‘त्यो अनुसार फिल्डमा काम देखिएको छैन ।’

तपाईको प्रतिक्रिया