—सम्पादकीय— गणतन्त्रमा दरबारको विजोग

समाधान संवाददाता २०७६ भदौ १२ गते १५:३७

देशमा गणतन्त्र आएर राजा हटे पनि राजदरबारहरु थिए । दरबार भनेको राजाको नीजि सम्पति होइन, थिएन । राष्ट्रिय सम्पति हो । दरबार आफैंमा कुनै घर वा भवन मात्रै होइन इतिहास पनि हो । राष्ट्रिय सम्पदा हो । राजा हटाएपनि दरबार हटाउने कुरा भएन, बरु संरक्षण गर्नुपर्‍यो । पछिल्लो समयका राजाहरु बसेको काठमाडौंको नारायणहिटी दरबार अहिले संग्रहालय बनेको छ । अध्ययन र अवलोकनको गन्तव्य भएको छ । त्यस्तै अध्ययन अवलोकनको गन्तव्य थियो गोरखा दरबार ।

गोरखा दरबार अर्थात् आधुनिक नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको दरबार । पृथ्वीनारायण स्वयंले त्यो दरबार छोडेर नुवाकोट सरेका थिए, तर दरबार संरक्षित थियो, नुवाकोट पनि छोडेर काठमाडौं सरे, फेरि पनि नुवाकोट र गोरखा दरबार संरक्षण गर्न छाडिएन । पृथ्वीनारायण शाहले होइन, उनका पुर्खा राम शाहले बनाएको दरबार हो गोरखा दरबार । जहाँ पृथ्वीनारायण जन्मिए, हुर्किए, राजा भए र राज्य विस्तार अभियान सुरु गरे ।

गोरखा दरबार पृथ्वीनारायण शाहको मात्रै इतिहास होइन, नेपालको इतिहास हो । उनका पुर्खा राम शाहको मात्रै इतिहास होइन, त्यतिबेलाका रैती अर्थात् नागरिकहरुको पौरखको इतिहास हो । ऊ जमानाको कला र संस्कृति अनि वास्तुको इतिहास हो । इतिहास केवल अध्ययन र अवलोकनका लागि मात्रै हुँदैन । इतिहासको जगमा वर्तमान अडिएको हुन्छ र भविष्यको बाटो तय भएको हुन्छ । तसर्थ इतिहासलाई केवल पुरानो समयका रुपमा मात्रै लिन सकिँदैन ।

Advertisement

विसंको १६६६ सालमा बनेको गोरखा दरबारमा त्यतिबेलाको निर्माण कला झल्किएको थिएन, सामरिक कौशल पनि झल्कन्थ्यो । तर २०७२ सालको भुइंचालोले यो दरबार ढाल्यो । त्यसपछि पुरै पुनर्निर्माण गर्ने भनेर सरकारले २०७४ सालमा जगैदेखि भत्कायो । पुरातत्व विभागले आउँदो मंसिरसम्म सक्ने गरी लगाएको ठेक्काको कामले अहिलेसम्म गति लिएको छैन । मंसिर त के यो वर्षभित्र काम पूरा हुने छाँटकाँट छैन । यो सम्पदामाथिको लापरवाही हो, ठेकेदारमाथि सरकारले कसिकसाउ गर्न नसक्नुको परिणाम हो ।

विभागमार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रु.४ करोड ३२ लाख रुपैयाँमा पचली भैरव शिभाको जेभी कम्पनीलाई सुम्पिएको कामको २५ प्रतिशतमात्रै पूरा भएको छ । यसमा ठेकेदार कम्पनीले पुरातत्व विभागलाई दोष लगाइरहेछ, विभाग ठेकेदार कम्पनीलाई । प्राधिकरणले कमजोरी कसको हो पत्ता लगाएर कामलाई गति दिन लगाउनु उपयुक्त हुन्छ । ठेकेदार कम्पनी भन्छ पटकपटक डिजाइन परिवर्तन भयो, विभाग भन्छ ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्‍यो । यहाँ जनताले चाहेको कारण होइन परिणाम हो । ऐतिहासिक महत्वको सम्पदा निर्माणमा यसरी लापरवाही गरिनु कदाचित क्षम्य छैन । सम्बन्धित निकायको ध्यान जाओस् । गोरखा दरबार पुनर्निर्माण छिटो होस् ।

Advertisement

तपाईको प्रतिक्रिया