बन्यो सहिद पार्क, ठडिँदै सालिक

समाधान संवाददाता २०७६ भदौ १५ गते ११:२५

युवराज गुरुङ ‘युनिश’
पोखरा

पोखरा महानगरमा प्राय सबै चोकभरि विभिन्न व्यक्तित्वका सालिक छन् । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । ती चोक तिनै सालिकका नामले परिचित छन् । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, बिपी चोक इत्यादि त्यसैका उदाहरण हुन् ।

सडकको बीच भागमा ठडिएका ती चोकले ठूलो ठाउँ ओगटेका थिए । जसले गर्दा बाटो साँघुरिएको थियो र आउजाउमा पनि समस्या हुन्थ्यो । केही समयअघि पोखरा महानगरले सडकको आकार बढाउने भन्दै ती सालिकले ओगटेका ‘आइल्यान्ड’ भत्काएको थियो ।

Advertisement

पोखरा पृथ्वीचोकमा रहेको सहिद लखन थापाको सालिक हटाउँदा महानगरले ठूलै आलोचना खेप्नुप¥यो । सहिद लखन थापाको सालिक रातारात महानगरले हटाएपछि महानगरमाथि मगर समुदायका अगुवा खनिएका थिए । उनीहरुको आरोप थियो, ‘सहिदको सम्मान गर्नुपर्ने ठाउँमा उल्टै हटाइयो । मगर समुदायलाई मात्रै तारोमा पारिएको छ ।’

तर, महानगरको योजना अर्कै थियो, ‘कुनै निश्चित ठाउँमा एउटा पार्क बनाउने र त्यही पार्कमा सबै सहिद तथा राष्ट्रिय विभूतिका सालिक राख्ने । त्यस पार्कलाई पर्यटकीय गन्तव्य बनाउने र पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने ।’

Advertisement

पछि महानगर र आन्दोलित मगर समुदायबीच सालिक ‘पार्क बनिसकेपछिमात्रै त्यहाँबाट हटाउने’ सहमति भएसँगै पुन सालिक साविक स्थानमै ठड्याइयो । महानगरले पोखरा जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचन, अमरसिंह चोक, बिरौटा चोक, हरि चोक, पृथ्वीचोक मुस्ताङ चोकको आइल्यान्ड भत्काइसकेको छ ।

पोखरा १८ सराङकोट, जामुनबोटमा सहिद पार्क बनाएको छ । जामुनबोटमा अहिले ५६ रोपनी क्षेत्रफलमा पार्क तयार भइसकेको छ । पार्क बनाउन महानगरले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये प्रारम्भिक चरणको काम सक्न ४५ लाख रुपैयाँ खर्च भएको महानगरको भनाइ छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा पृथ्वीनारायण शाहको सालिक ठड्याइएको छ । शाहको अघिल्तिरबाट पोखरा बजार क्षेत्र, फेवातालदेखि अन्नपूर्ण हिमशृंखला नियाल्न सकिन्छ । शाहको सालिक ६ फिट ३ इन्च अग्लो पूर्ण कदमा ठडिएको छ ।

पार्कमा २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तीमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल, जनआन्दोलन ०६२÷०६३ का प्रथम सहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठड्याइसकिएको छ । अब केही समयपछि दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सालिकसमेत राखिने पोखरा १८ का वडा सदस्य हरि लम्सालले जानकारी दिए ।

‘पार्कमा रवीन्द्र ब्लक बनाइन्छ । त्यसमा एउटा ठूलो डमी हेलिकप्टर राखेर राखिन्छ । त्यसले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झना ताजा बनाइराख्ने विश्वास लिएका छौं,’ कार्यवाहक वडाअध्यक्षसमेत रहेका लम्सालले भने । उनले पार्कमा व्यायामशाला निर्माण भइसकेको र चाँडै सेमिनार हल, बाल उद्यान लगायत पूर्वाधार बनाइने जानकारी दिए ।

पार्कमा वीपी कोइराला, भीमसेन थापा, हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत २० वटा सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने महानगरको योजना छ । महानगरले पार्क पूर्ण रुपमा तयार भइसकेपछि सडक चोकका सबै सालिकलाई पार्कमा स्थानान्तरण गरेर सडक चौडा बनाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया