दूधको मूल्य १० रुपैयाँ बढाउन माग

समाधान संवाददाता २०७६ भदौ १५ गते ११:३२

समाधान संवाददाता
काठमाडौं

दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन । शनिबार काठमाडौंमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो ।

विगत ३ वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसान मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । आफूहरुको उत्पादन लागतमा विगत ३ वर्ष यता ३० प्रतिशत भन्दा बढी मूल्य बृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यले खर्बको व्यापार घाटा बढ्ने समाजको ठहर छ ।

अहिलेकै मूल्यमा आफूहरुको लागत पनि नउठ्ने बताउँदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण वस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफूहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउँदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

Advertisement

संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउँदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उल्लेख गरे ।

गण्डकी प्रदेश संयोजक दिपक तिमिल्सिनाले राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको आरोप लगाए । बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ । राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे । कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग छ । उनले भने, ‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दूध उत्पादनको भूमिका ११ प्रतिशत छ । त्यसलाई बढाउँदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामी पुगिसकेका छौं ।’

संस्थाका सल्लाहकार तथा संयोजक राजेन्द्रराज पन्तले राज्यको सबै क्षेत्रमा मूूल्य बृद्वि भइरहेको भन्दै दूधको मूल्य बढाउनमा सरकारले बेवास्ता गर्दै आएको बताए । ‘पेट्रोलको पटक–पटक बढ्ने, तरकारीजन्य दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर छुन नसक्ने अवस्थामा पुगेपनि दूधको मूल्य वितग ३ वर्षदेखि यथावत रहनु दुखद रहेको उनको भनाइ थियो ।

आफूहरुले बजारमा ल्याएको दूधलाई स्तरीय नमान्ने तर भारतबाट आयात गरिएको दूधमा देशले समृद्वि देखिरहेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘पत्रकारदेखि नेतासम्म सबैको परिचयपत्र हुने तर कृषक परिचय पत्र नहुने ? गाउँ–गाउँमा सिंहदरवार पुगेको भन्ने तर सिंहदरवार छिर्न हामीले अझै नागरिकता देखाउनु पर्ने वाध्यता छ । तुरुन्त किसान परिचय पत्र वितरण होस ।’

किसान इन्द्रमणि गैरेले खाद्यान्नलगायत पशु आहारको मूल्य झण्डै २ गुनाभन्दा बढि बृद्वि भएको र कर्मचारीको तलब पनि बृद्वि भइरहँदा किसानले उत्पादन गरेका दूधको मूल्य यथावत रहेको बताए । ‘अहिलेकै अवस्तामा नेपालका युवाहरु विदेश पलायन भइरहँदा नेपालमा उत्पादनका क्षेत्रमा बृद्वि गर्न नसकेको अवस्थामा राज्यले बैदेशिक रोजगारीलाई बढावा दिएको तर वास्तविक किसानको परिश्रमलाई बेवास्था गर्दे आएको छ ।’ उनले भने, ‘किसानको परिचय खै ? आशा छ आगामी दिनमा राज्य सञ्चालन गर्ने निकाय अनुसारकै परिचय पाउने छौं ।’

वैदेशिक रोजगारमा जानेहरुको लगानी सुरक्षित रहने तर किसानको अर्बाे रुपैयाँको लगानी सुरक्षित नहुँदा युवा शक्तिलाई कृर्षि उत्पादनको क्षेत्रमा लगाउन कठिनाई रहेको उनले प्रष्ट पारे । आफूहरुको मागलाई राज्यले सुनुवाई नगरे देशभर रहेका प्रत्येक स्थानीय तहका कार्यालयबाट पशु चौपायासहितको आन्दोलन हुने उनको भनाइ छ । आफूहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै आश्वासन नपाएको जनाउँदै आफूहरु वस्तुभाउलाई प्रत्येक वडा कार्यालयमा लगेर बाँध्न बाध्य हुने पनि उनको चेतावनी थियो ।

तपाईको प्रतिक्रिया